Saturday, August 6, 2016

प्रगतिवादी साहित्यका मान्यताहरू - डी.आर. पोखरेल

१) प्रारम्भिक


हुन त 'प्रगतिवादी' भन्ने शब्दावली हाम्रो परिवेशको चलेको शब्दमात्र हो। यसको तात्पर्य मार्क्सवादी वा समाजवादी यथार्थवादी सिर्जन प्रक्रियासँग नै सम्बन्धित छ। प्रगतिवादको अर्थ निरुपण गर्दै नेपाली बृहत् शब्दकोशमा भनिएको छ – 'साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्त्व दिने, मार्क्सवादबाट प्रभावित साहित्य सिद्धान्त' नै प्रगतिवाद हो र यही साहित्य सिद्धान्तमा विश्वास गर्ने, यसको अनुयायी साहित्य नै प्रगतिवादी हो भनिएको छ। यो साहित्यको धाराहरूमध्येको एक धारा विशेष हो। जसरी अस्तित्ववादी, मनोविश्लेषणवादी, परिष्कारवादी धाराहरू छन्। यसैगरी प्रगतिवादी साहित्यधारा पनि आजको युगको एक प्रभावशाली धारा हो। तर आज प्रगतिवादी साहित्यप्रति नाक खुम्च्याउनेहरू पनि छन्। यसमा कलापक्ष कमजोर हुन्छ, राजनैतिक नाराहरू लेखिएका हुन्छन् भन्ने सोच राख्ने गरेको पाइन्छ। साहित्यको निरपेक्ष सत्ता हुन्छ, यो शाश्वत चरित्रको हुन्छ, यसमा विचार होइन कला हुन्छ, यो सबैका लागि हुन्छ भन्ने सोच्ने गरिएको पाइन्छ। अर्काेतिर यस धाराका अनुयायीमा पनि साहित्यको सापेक्षिक स्वतन्त्रता हुन्छ ,यो कलापूर्ण अभिव्यक्ति हो, यो समाजको गहन अध्ययन, उत्खनन्, यथार्थ चित्रण, उदात्त भावबोधन, प्रतिनिधि चरित्र चित्रण गर्ने साहित्यधारा हो भन्ने कुरामा ध्यान नपुर्‍याई केही उग्रअभिव्यक्ति, यान्त्रिकता, नारावादिता र सतही र सपाट अभिव्यक्ति र कलामा विचारको जबरजस्ती घूसपैठलाई नै आफ्नो अभीष्ट सिद्धि ठान्नेे सोच पनि रहेको छ। त्यसो भएकोले प्रगतिवादी साहित्यका मान्यता के– के हुन्? प्रस्तावना के के हुन्? भनेर यहाँ चर्चा गर्ने कोसिस गरिएको छ।

२) प्रस्तावनाहरू

क) साहित्य र कला पनि विचारधाराकै एउटा रुप हो, सहज ज्ञान वा अनुभूतिका तत्वद्वारा निर्देशित कुरा होइन। मार्क्सवादी साहित्य चिन्तकहरूले सूत्रबद्ध गरेको पहिलो प्रस्तावना हो यो। यस प्रस्तावनाअनुसार कला पनि विचारधाराकै उपज हो। अझ त्यतिमात्र नभई यो विचारकै एउटा रुप हो। यो अनुभूतिको वा सहज्ञानको कुरो होइन। किनभने दृष्टिकोण नभएको चिन्तन वा चेतना नभएको स्रष्टा हुँदैन। उसले कुनै घटना वा चरित्रको चित्रण गर्दा त्यसको वर्णन र विश्लेषण गर्दा के आधारमा गर्छ? ऊसित कुनै चिन्तन नै छैन भनेपछि उसले कुनै घटना वा चरित्रको चित्रण नै गर्नसक्दैन। जसरी पशुपंक्षीले गर्नसक्दैन। सामान्य अनुभूति भनेको कुनै घटना, वस्तु वा चरित्रको प्रत्यक्ष ज्ञान हो। यो मस्तिष्कमा परेको पहिलो दृश्य हो। यसलाई तुरुन्त तार्किक ज्ञानमा फेरेपछि त्यो अभिव्यक्तिको बाटो भएर बाहिर प्रकट हुन्छ। अनुभूतिले मात्र साहित्यिक अभिव्यक्तिको निर्माण हुँदैन। अनुभूतिहरू तार्किक ज्ञानको माध्यमबाट अवधारणाको स्तरमा उठ्छन् र अझ त्यसमा परिष्कार आएपछि त्यसले चिन्तनको रुप लिन्छ र त्यो विस्तारै सिद्धान्त वा विचारको रुपमा स्थापित हुन्छ। यसरी जीवन र जगत्लाई हेर्ने दृष्टिकोण निर्माण भएर वस्तु र घटनाबारे एउटा स्पष्ट धारणा बनेपछि मात्र त्यसले अभिव्यक्तिको रुप लिन्छ। अब अभिव्यक्ति कलाको पनि प्रश्न छ। सीपको प्रश्न छ। यो सबै साधनद्वारा समृद्ध हुँदै अघि बढ्ने गर्दछ। त्यसकारण अनुभूति चिन्तनको सहायक कुरो हो। जहाँसम्म सहज ज्ञान (आत्मज्ञान) को कुरो छ यो भने वैज्ञानिक तर्कद्वारा पुष्टि गरिएको कुरो होइन।

ख) साहित्य र कला समाजको आर्थिक–भौतिक जीवको उपज हो र त्यसमै आधारित हुन्छ। जब मानव चेतना नै भौतिक परिवेशको उपज हो भने साहित्य र कलामात्र त्यसबाट अलग हुनसक्तैन। कहिल्यै पनि हिमाल नदेखेको कलाकारले हिमालको चित्र बनाउँदा कस्तो बनाउला?

पाश्चात्य सभ्यतामा हुर्किएको एउटा युवकले नेपाली वर्णाश्रम, छुवाछुत र जातभातको भेदभावबारेमा के कविता कोर्नसक्ला? सामन्तवादी सोच प्रणाली भएको समाजले के समाजवादी चिन्तनलाई चित्रण गर्नसक्ला? पशुहरूले यदि भगवानको फोटो बनाए भने कस्तो बनाउलान्? मान्छेले आफूजस्तै दुईखुट्टे भगवान बनाउन सक्छ भने पशुहरूले चार खुट्टे भगवान नबनाउलान्। यस्तै गरी लडाइँको बेलामा के मानिसको शृङ्गारिक साहित्य लेखी बस्ला? गणतन्त्र आएपछि पनि के नेपाली साहित्यको मूलधारको राजतन्त्र चन्द्रसूर्य रहेसम्म निर्विकल्प रहन्छ भनेर लेख्न सक्लान्? त्यसकारण साहित्य र कला परिवेशका उपज हुन् र त्यसमै आधारित पनि रहेका हुन्छन्।

ग) आर्थिक–भौतिक परिवर्तन हुनासाथ साहित्य, कला र विचारधाराका अन्य क्षेत्रमा धेरथोर परिवर्तन त्यही रफ्तारमा हुन्छ। उदाहरणको निम्ति राजतन्त्र ढलेर गणतन्त्र आउनेबित्तिकै नेपाली स्रष्टाहरूले पनि गणतान्त्रिक साहित्यिक उत्सव मनाए। रफ्तार त त्यही नै रह्यो। साहित्यिक अभिव्यक्तिहरू फेरिए। यो एउटा उदाहरणमात्र हो। वास्तवमा आर्थिक – भौतिक धरातलमा परिर्वतन आउनासाथ साहित्य र कलामा पनि परिर्वतन देखापर्ने नै गर्छ। सुस्ता समस्यामा चितवनबाट कति देशभक्तिका कविताहरू लेखिए। सीमा समस्याबारे आज कति साहित्य लेखिइरहेका छन्। यो उदाहरण नै यसको लागि काफी छ।

घ) मानव सचेतनाको भूमिकाः भौतिक–आर्थिक परिवर्तन त भयो तर त्यसप्रतिको संवेदनशीलता भएन वा मानव चेतना त्यहाँसम्म उठ्न सकेन भने भौतिक परिवर्तनले त्यति ठूलो प्रभाव छोड्दैन। यसमा मानव चेतनाको भूमिका रहन्छ। जस्तो भनौं केही वर्ष अघिसम्म जातीय पहिचान खोज्ने आजको चेतना थिएन। अनेक दुःख सहेर जातजातिहरू बसेका थिए। तर २०४६ को जनआन्दोलनले जातीय चेतनालाई बढायो। मानिस शिक्षित र संवेदनशील भएपछि परिवर्तनलाई त्यही उचाइमा ग्रहण गर्ने

गर्छन्।


ङ) साहित्य र कला परिववेशबाट प्रभावित हुनेमात्र नभई त्यसले परिवेशलाई प्रभावित पनि पार्छ। सामाजिक क्रान्ति र समाजको पुनःनिर्माणमा साहित्य र कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ, परिवेशबाट जुन कला चेतनाको निर्माण हुन्छ यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। आन्दोलनले जब समाजवादी चेत पैदा गर्‍यो, त्यसले गरीब र धनीको दूरीलाई चित्ताकर्षक ढङ्गले चित्रण गर्‍यो। उत्पीडन, शोषण, दमन र गरिबीलाई सर्वसाधारणले पनि बुझ्ने गरी प्रष्ट्यायो। मन छुने गरेर अभिव्यक्ति पस्कियो। कविता, कथा, गीत, नृत्य, नाटक आदिका माध्यमबाट असलप्रति आदर र कमसलप्रति घृणाको कोमल भावहरूलाई जन्मायो। यसले निश्चय नै समाज परिवर्तनमा भूमिका खेल्यो वा खेल्ने गर्छ। यसरी समाजको रुपान्तरणमा साहित्य एक सशक्त हतियार सावित हुन्छ र भएको छ।

च) साहित्य र कलाको उद्भव र विकासमा श्रमको ठूलो भूमिका छ। श्रमद्वारा नै हातमा त्यो शक्ति र क्षमता आएको छ जसले कलाको निर्माण गर्दछ। विकासवादी सिद्धान्तअनुसार मानव जङ्गली युगबाट विकसित हुँदै मनुष्य हुन आइपुगेको हो। पहिले त उसको हातले कलम समाउने, चित्र कोर्ने त कता हो कता, पाकेको फल टिपेर पनि खान जान्दैनथ्यो। यसका लागि हजारौं वर्ष उसले कठिन सङ्घर्ष गर्नुपर्‍यो। हातमा सीप ल्याउनलाई लामो समयको अभ्यासको जरुरत पर्‍यो। तर जब हात स्वतन्त्र भयो र कलम समात्न सक्ने भयो, यसपछि यस कलमले समाजोपयोगी कलाको उत्पादन गर्नथाल्यो। घर बनाउने सीप, जहाज बनाउने सीप, धनुस्काँड बनाउने सीपदेखि कम्प्युटर बनाउने सीपसम्म मानव हात आइपुग्दा यसले निर्माण गरेका सीप र वस्तुहरूले समाजको स्वरुप कसरी फेर्दै ल्याए। असभ्य मानव जाति आज सभ्यताको कति चरम अवस्थामा आइपुगेको छ। यो सबैमा श्रमको ठूलो भूमिका रहेको छ।

छ) पशुपक्षीहरू र मानिसमा ठूलो भिन्नता छ। पशुपक्षीहरू आफू र आफ्ना सन्तानका निम्ति क्रियाशील हुन्छन् तर मानव भने आफ्नो सन्तान, जाति, राष्ट्र र सबैका निम्ति काम गर्छन्। यसरी अर्काका लागि समेत मानिसले श्रम गर्ने, उत्पादन गर्ने हुनाले यसले स्वतः सौन्दर्य रचनाको नियमको निर्माण गर्दछ। यो प्रस्टै छ, आफ्नो सन्तानका लागि मात्र क्रियाशील हुने पशुपक्षीमा त्यो विशालपना, त्यो उदात्तपना, त्यो निःस्वार्थपना, त्यो उदारभावना र त्यो निर्वैयक्तिक उच्च भावनाले जन्मन नै पाउँदैन। जब मानव जातिमा यो जन्मिन्छ, उसको जीवन जिउने कला कति उँचो बन्छ। उँचो वस्तुको सौन्दर्य तत्त्व पनि त उँचो हुन्छ।

ज) शैली मानव व्यक्तित्वको पर्याय हो। यो स्वतन्त्र लेखनमा नै झ्याङि्गन्छ। कसैको दबाब वा विवशतामा गरिएको सिर्जनामा मौलिक शैली प्रकट हुनसक्तैन। नेपाली प्रगतिवादी साहित्य सिर्जना प्रक्रियाको एउटा प्रवृत्ति के छ भने साहित्यभित्र सिद्धान्तलाई जबरजस्ती खाँद्ने। यसो गर्दा स्रष्टाको मौलिकता प्रकट नहुने, त्यो दबिन जाने र सिर्जना यान्त्रिक बन्नेतर्फ मार्क्सवादी साहित्य चिन्तकहरूले पहिले नै विचार गरिसकेको देखिन्छ। दबाब र विवशतामा गरिएको सिर्जना मौलिक नहुने र स्रष्टाको व्यक्तित्व पनि प्रस्ट नहुने चिन्तनबारे समस्त प्रगतिवादी फाँटका नेपाली सर्जकहरूले एकपटक पुनः सोच्नुपर्ने देखिन्छ।

झ) कलात्मक प्रतिभा सीमित व्यक्तिमा मात्र हुन्छ भन्ने होइन। श्रम विभाजन र अवसरहरूको असन्तुलित अवस्थामा मात्र थोरै मानिसलाई प्रतिभा देखाउने सहुलियत प्राप्त हुन्छ। समाजमा पक्षपात नहुने, विसङ्गत अवस्था नहुने र सबैले समान अवसर पाउने हो भने जो कोही पनि बलाकार हुन सक्छ। यसमा फरक के छ भने केही जेनेटिक फ्याक्टरले गर्दा कलाका पनि एउटै क्षेत्रमा सबैको उत्तिकै अभिरुचि नहुन सक्छ। कोही मूर्तिकलामा पारङ्गत हुन्छन् भने कोही सङ्गीत कलामा। कोही बन्छन् भने कोही नर्तक बन्छन् र कोही शास्त्र विज्ञ बन्छन् भने कोही उपयोगी कुरामा माहिर बन्छन्। तर अवसर नपाएपछि त देवकोटाको शब्दमा – 'हाम्रा शेक्सपियरहरू हलो जोत्न मै विवश रहन्छन्।' यसरी प्रगतिवादी कला चिन्तनले ज्यादै फराकिलो परिप्रेक्ष्यमा मानव जातिको कला र साहित्यको विकासबारे आफ्नो वैज्ञानिक धारणाहरू प्रस्तावको रुपमा प्रस्तुत गरेको छ। यति गहन, यति मानवीय, यति सिर्जनशील, यति वस्तुनिष्ठ र समग्रतावादी साहित्यिक सोच सम्भवतः अन्य साहित्यिक चिन्तनधाराहरूमा पाउन सम्भव छैन।

३. निष्कर्ष

प्रगतिवादी साहित्यधाराका यी सोचहरू अर्थात् यी प्रस्तावनाहरू ज्यादै गम्भीर कोटीका छन्। दार्शनिक तहका छन्। श्रमबाट नै मानवले कला र सीप आर्जन गरेको हो र उचित वातावरण पाउँदा जो कोही पनि साहित्यकार कलाकार बन्नसक्छ। साहित्यकार, कलाकार हुनलाई विशेष प्रतिभा चाहिने वा जन्मसिद्धी कुनै योग्यता चाहिने नभई मानव प्रतिभा र क्षमता परिवेशसितको साक्षात्कारबाट निर्माण हुँदै जाने कुरा हो। उचित वातावरण पाएमा जोसुकै पनि साहित्यकार, कलाकार बन्नसक्छन्। स्रष्टाले आर्जन गरेको कला क्षमताले समाज परिवर्तनमा पनि भूमिका पुर्‍याउनसक्छ। समाजको भौतिक र आर्थिक परिवर्तनसँगै त्यही रफ्तारमा साहित्य कलामा पनि परिवर्तन आउँछ र यसलाई ढिलो–चाँडो र स्तरीय अस्तरीय बनाउने कार्य भने मानवको सचेतनामा नै भरपर्दछ।

आन्दोलनले नयाँ कुरा दिएको छ तर समाजसित ग्रहणीय क्षमता आएको छैन भने त्यो तुहुन सक्छ। यसैगरी शैली व्यक्तित्वको पर्याय भएको र उसको मौलिकता दबाब र विवशताबाट प्रकट हुनसक्तैन। स्वतन्त्रतामै यो झ्याँगिन्छ भन्ने भनाइले साहित्यको सापेक्षिक स्वतन्त्रतालाई आंैल्याएको छ। मूल रुपमा साहित्य र कला पनि विचार नै हो र यो अनुभूति र सहज ज्ञानबाट निर्देशित कुरो होइन भन्नेजस्ता जेजति प्रस्तावनाहरू प्रस्तुत भएका छन् यिनको गम्भीर अध्ययन, मनन र अवलम्बन हुनु नितान्त जरुरी छ।





समाप्त

http://majdoor.com.np बाट साभार 

No comments:

Post a Comment