Tuesday, May 16, 2017

प्रगतिवादी साहित्य लेखनका २० चुनौती - डा. रामप्रसाद ज्ञवाली


प्रगतिवाद के हो भन्नेबारे माक्र्स र एङ्गेल्सका आधारभूत मान्यता, लेनिन र माओका विचार, गोर्की र लु सुनका सिर्जनासहितका धारणा, क्रिस्टोफर कडवेल र भिक्टर आफानास्येभका गम्भीर विमर्श र व्याख्या लगायतका विदेशी विचारकहरूका मान्यतादेखि नेपाली विचारकहरू (गोविन्दप्रसाद लोहनी, गोविन्द भट्ट, कृष्णदास श्रेष्ठ, चैतन्य, निनु चापागाईं, मोदनाथ प्रश्रित, घनश्याम ढकाल, ऋषिराज बराल, डा.देवीप्रसाद गौतम, डा.जगदीशचन्द्र भण्डारी, डा.ताराकान्त पाण्डेय, डा.गोपीन्द्र पौडेल, विष्णु प्रभात, अमर गिरी, आहुति, रमेशप्रसाद भट्टराई, हेमनाथ पौडेल, ईश्वरचन्द्र ज्ञवाली लगायतका दर्जनौँ लेखकहरू) का धारणाहरू प्रस्तुत भएका कृतिहरू बजारमा पाइन्छन् । उनीहरूका भनाइलाई उद्धरण गरिरहनु भनेको उनै कुराको पुनरावृत्ति गर्दै बौद्धिक विलास गर्नु र लेखलाई लम्ब्याउनु मात्रै हो । त्यसैले यस पत्रमा प्रगतिवादबारे कसले के के भने भन्दै तिनै भनाइहरूको सङ्कलन गर्नु आवश्यक ठानिएको छैन, बरु ती भनाइहरूमा रहेको सारभूत कुरालाई सोलोडोलोमा व्यक्त गर्नु नै पर्याप्त ठानिएको छ । ‘नेपाली साहित्य’ भनेर आजसम्म नेपालको सरकारी तहमा र जनमानसमा स्थापित र व्यवहारमा प्रचलित नेपाली भाषामा रचित साहित्यलाई लिइएको छ । यसलाई जनजातिका बौद्धिक विचारकहरूले भन्ने गरेको ‘खस भाषा’मा लेखिएको नेपाली साहित्य भन्दा पनि फरक पर्दैन ।


प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम

प्रगतिवादी नेपाली साहित्य लेखनको यात्रा रमेश विकलको कथा ‘गरिब’ (२००६), कृष्णचन्द्रसिंह प्रधानको कविता सङ्ग्रह ‘भञ्ज्याङनिर’ (२००८) हुँदै सुरु भएको देखिन्छ । त्यसपछिका करिब साढे छ दशकमा प्रगतिवादी नेपाली साहित्यले सैद्धान्तिक विमर्श, सिर्जना र समालोचना गरी तिनोटै क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ । सिर्जनाका तहमा साहित्यका सबैजसो विधा–उपविधाहरूमा (कविताअन्तर्गत फुटकरदेखि महाकाव्यसम्म, आख्यानअन्तर्गत लघुकथादेखि उपन्याससम्म, नाटकअन्तर्गत एकाङ्कीदेखि पूर्णाङ्कीसम्म र निबन्धअन्तर्गत आत्मपरकदेखि वस्तुपरक वा निजात्मकदेखि परात्मकसम्म) तथा समालोचनाका तहमा सैद्धान्तिक र व्यावहारिक (प्रायोगिक) दुवै तहमा प्रगतिवादी नेपाली साहित्यको रचना भएको छ ।

२००८ सालदेखि २०१६ सालसम्मको अवधिको तुलनात्मक रूपमा खुकुलो परिवेशमा नेपालका प्रगतिशील साहित्यकारहरूले सामन्तवादी प्रगतिशीलता र पुँजीवादी प्रगतिशीलता हुँदै माक्र्सवादमा आधारित प्रगतिवादी साहित्य सिर्जनातिरको लेखन गर्न थालेको पाइन्छ । यस अवधिमा माक्र्सवादी दर्शनको अध्ययनको प्रभाव प्रगतिवादी साहित्यकारमा मात्र नपरी परिष्कारवादी तथा स्वच्छन्दतावादी साहित्यकारहरूमा समेत परेको देखिन्छ । परिष्कारवादी कवि बालकृष्ण समको ‘आगो र पानी’ तथा लेखनाथ पौड्यालको ‘तरुण–तपसी’ (यस काव्यको वर्गीय विभेद सम्बन्धी अभिव्यक्तिमा मात्र) तथा स्वच्छन्दतावादी कवि लक्ष्मीप्रसाद देवकोटाका ‘कृषिबाला’ ‘प्रमिथस’ लगायतका अनेक रचनाहरूमा देखिने प्रगतिशीलता माक्र्सवादी दर्शनको प्रभावकै परिणाम देखिन्छन् । यो अवधि प्रगतिवादी साहित्य लेखनको औपचारिक प्रथम चरण हो । यस चरणमा झिनो स्वरमा राजतन्त्रको विरोध गर्दै किसान र श्रमजीवी तथा उत्पीडित वर्गीय नेपालीहरूको जीवनोत्थानका निम्ति देशभक्तिपूर्ण जागरण र सामन्तवाद विरोधी विचारसहितको प्रगतिवादी साहित्य लेखन भएको देखिन्छ । यस अवधिमा देखा परेका साहित्यकारहरूमध्ये गोविन्द लोहनी, गोविन्द भट्ट, आनन्ददेव भट्ट, गोकुल जोशी, धर्मराज थापा, टीआर विश्वकर्मा लगायतका अनेक द्रष्टा र स्रष्टाहरूका अभिव्यक्तिहरू प्रगतिवादी साहित्य चिन्तनका परिणाम बनेर आएका छन् ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनीतिमा ‘कू’ गरेपछि सुरु भएको पञ्चायती शासन कालको पूर्वाद्र्ध (२०३० सम्म) मा प्रगतिवादी नेपाली साहित्य लेखन सेती नदी झैँ भित्रभित्रै सुसाउँदै अगि बढेको देखिन्छ । प्रगतिवादी नै बन्न नसके पनि भूपी शेरचनको प्रगतिशील रचनाधर्मिता र आलोचनात्मक यथार्थवादसम्म पुगेको रमेश विकलको रचनाधर्मिता बाहिरै प्रकट भएर आएको देखिन्छ भने राल्फा विद्रोह र पारिजातको पूर्वाद्र्ध चरणको साहित्य यात्राको पछिल्लो लेखन (मूलतः उपन्यासमा), गोविन्द भट्टको समालोचकीय रचनाधर्मिता, निनु चपागाईंको अध्ययनपूर्ण लेखनको प्रारम्भ, मोदनाथ प्रश्रितको क्रमशः विकसित हुँदो प्रगतिशीलता, विद्रोही चेतना बोकेको राल्फा आन्दोलनका सर्जकहरूको सिर्जन आदिका रूपमा यस अवधिको प्रगतिवादी नेपाली साहित्य लेखन कछुवा गतिमा अगि बढेको देखिन्छ ।

नेपालको वामपन्थी राजनीतिअन्तर्गत जागृत हुँदै गएको विद्यार्थी राजनीति, शिक्षक राजनीति, झापाकाण्ड लगायतका विद्रोही राजनीति, भूमिगत रूपमा विस्तार हुँदै गरेको किसान सङ्गठन, कम्युनिस्ट पार्टीमा भएको विभाजन र विभाजित राजनीति, २०३५–२०३६ सालको विद्यार्थी आन्दोलन, जनमत सङ्ग्रह र सडक कविता क्रान्ति आदिबाट पञ्चायती शासन कालको उत्तराद्र्ध (२०३१–२०४६) मा प्रगतिवादी नेपाली साहित्यलाई विकसित गर्न भरपर्दो मदत मिलेको देखिन्छ । यस अवधिमा कविता र आख्यान विधामा सर्वाधिक सशक्त बनेको प्रगतिवादी नेपाली साहित्यले उपन्यास, कथा, नाटक, गीत, विचारपूर्ण निबन्ध आदि सिर्जनात्मक लेखनका रूपमा, सम्पादन र अनुवादका रूपमा तथा वैचारिक बहस, विचार गोष्ठी आदिका रूपमा महत्त्वपूर्ण विकास प्राप्त गर्न सकेको देखिन्छ । यस अवधिमा पारिजातका उपन्यास र कथा लेखन, मोदनाथ प्रश्रितको महाकाव्य (देवासुर सङ्ग्राम) लेखन, खगेन्द्र सङ्गौलाको कथा लेखन, भवानी घिमिरे र विमल निभा लगायतका अनेक कविहरूको कविता लेखन, निनु चापागाईं, गोविन्द भट्ट, मोहन दुवाल लगायत अनेक आलोचकहरूको आलोचनात्मक लेखन आदि आदि बहुविधात्मक र बहुआयामिक प्रगतिवादी साहित्य लेखन भएको देखिन्छ । यस अवधिमा पनि प्रगतिवादी साहित्य लेखनमा पञ्चायती सामन्तवादको हस्तक्षेप रह्यो नै तर पूर्वाद्र्धका तुलनामा उत्तराद्र्धमा यस्तो हस्तक्षेपको मात्रा केही कम र तुलनात्मक रूपमा केही खुकुलो बन्न पुगेकाले प्रगतिवादी स्रष्टाहरू अलि खुलेर अभिव्यक्त भएका देखिन्छन् । तर पनि सामन्तवादका विरुद्ध ठाडै बोल्नु सहज नभएकाले व्यञ्जना, ध्वनि र प्रतीकका तहमा बोल्ने शैलीको विकास पनि यसै अवधिमा भयो । प्रतिबन्धात्मक अवस्थामा सत्ता विरोधी साहित्यिक अभिव्यक्ति दिँदा ध्वनितत्त्वको आवश्यकता पर्छ । त्यसैले यस अवधिका शक्तिशाली साहत्यकारहरूले सामन्तवाद र पञ्चायती शासन व्यवस्थाका विरुद्धमा रचना गर्दा यही ध्वनितत्त्वको सहारा लिए । परिणामस्वरूप यस अवधिमा प्रगतिवादी नेपाली साहित्य लेखन विचारका दृष्टिले मात्र नभई कलामूल्यका दृष्टिले पनि निकै खारिँदै अगाडि बढ्यो भने प्रगतिवादी स्रष्टाहरू वैचारिक तीक्ष्णताका साथमा कलात्मक सौन्दर्यमा पनि उत्तिकै सशक्त बन्दै आए । कलात्मक सौन्दर्यले छोपेर अभिव्यक्ति दिइएको प्रगतिवादी साहित्य लेखन नै यस अवधिको मुख्य उपलब्धी हो ।



२०४६ सालको उत्तराद्र्धमा भएको पञ्चायती राजतन्त्र विरोधी जन आन्दोलनले पाएको सफलताका कारण २०४७ सालदेखि प्रगतिवादी नेपाली साहित्य लेखनले नयाँ मोड लियो । राज्य व्यवस्थामा संवैधानिक राजतन्त्र सुरु भए पनि पुँजीवाद पक्षधर प्रजातन्त्रवादी र साम्यवाद पक्षधर वामपन्थीहरू नेपाली राजनीतिको केन्द्रमा आए । परिणामस्वरूप साहित्य सिर्जनामा प्रतिबन्धात्मक अवस्थाको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको युग प्रारम्भ भयो । २०४७ सालदेखि २०५२ सालसम्मको अवधिमा प्रगतिवादी नेपाली साहित्य लेखन उन्मुक्त रूपमा सुधारवादी सन्देश, विकासवादी सोच, फुक्काफाल अभिव्यक्ति र आलोचनात्मक अभिव्यक्तितर्फ मोडियो । तर यही खुल्लापनका कारण साहित्यलाई आवश्यक पर्ने ध्वनितत्त्व÷व्यञ्जना तत्त्वतिर साधना गर्ने प्रवृत्तिमा कमी आयो र सौन्दर्यात्मक मूल्यमा ह्रास आउन थाल्यो । पञ्चायती शासन कालमा प्रतिबन्धात्मक अवस्थाका कारण प्रगतिवादी साहित्यकारहरू विचारका साथै कलामूल्यतिर पनि सचेत थिए तर यस अवधिमा कलामूल्यतिर त्यति ध्यान दिन सकेनन् । फलतः पञ्चायत कालीन साहित्य सिर्जनामा अनुभूतिको जुन प्रगाढता र सम्प्रेषणको जुन तीक्ष्णता देखिन्थ्यो, त्यो यस अवधिका रचनामा आउन सकेन । अतिवादी आशावादिता, अराजक र अतिसरल भाषाशैली, उदारवादी विचारधारा र कलाविहीन सोझो सपाट अभिव्यक्तिको विस्तारले प्रगतिवादी नेपाली साहित्य लेखनलाई सतही बनायो । यस अवधिमा पार्टी राजनीति र पार्टीनेताको उदात्तीकरण गर्ने स्तुतिवादी लेखन पनि सुरु भयो । सौन्दर्यले छोपेर विचारको शक्तिशाली प्रक्षेपण गर्ने शैली ज्यादै नै खुकुलो भएकाले प्रगतिवादी साहित्य लेखनको सौन्दर्य ह्रासोन्मुख हुन थाल्यो भने विचारधाराका विभिन्न रूपहरू प्रच्छन्न रूपमा प्रकट हुन थाले । यसबिचमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रप्रति असन्तुष्टि जनाउँदै वामपन्थी राजनीतिको एक धार विद्रोहको तयारीमा लाग्यो र २०५२ सालमा यस धारले सामन्तवादी राज्यसत्ता विरुद्ध सशस्त्र विद्रोहको औपचारिक थालनी ग¥यो । विद्रोहको यो थालनी प्रगतिवादी नेपाली साहित्य लेखनको परम्परामा पनि नयाँ मोड बन्न पुग्यो ।

२०५२ सालदेखि २०६१ सालसम्मका दस वर्षहरू नेपाली राजनीतिमा राज्यसत्ता विरुद्ध सशस्त्र जनयुद्धका वर्ष रहे । संवैधानिक राजतन्त्र र माओवादी सशस्त्र विद्रोहका बिचमा रक्तपातपूर्ण र क्रूर सत्ता सङ्घर्ष चल्यो । प्रगतिवादी साहित्यकारहरू पनि पक्ष विपक्षमा बाँडिएरै रचनामा प्रवृत्त भए । अस्वस्थ आलोचना र अस्वस्थ प्रत्यालोचनाको क्रम पनि चल्यो । यस अवधिमा विद्रोही पक्षका विचार र भावनासहितका सिर्जनाहरू नयाँ रूपमा आए । विद्रोही पक्षले आफ्ना सिर्जनाहरूलाई नयाँ यथार्थको साहित्यिक प्रतिबिम्बनका रूपमा व्याख्या ग¥यो । उनीहरूबाट नयाँ यथार्थ भनिए पनि यो लेखन मूलतः माक्र्सवादी सौन्दर्य चिन्तनकै विकसित (नेपाली साहित्यको परम्पराका सन्दर्भमा) रूप थियो । प्रगतिवादी कित्ताकै कतिपय समालोचकहरूबाट नयाँ यथार्थ भन्ने पदावलीप्रति प्रश्न पनि उठाइयो र विवाद पनि भयो तर विवादित रूपमा नै भए पनि प्रगतिवादी नेपाली साहित्य लेखनको परम्परामा यो अवधि नयाँ यथार्थको लेखनकै रूपमा बढी चर्चित रह्यो । यस अवधिमा सशस्त्र सङ्घर्षको उदात्तीकरण गरिएका प्रगतिवादी रचनाहरू ठुलो सङ्ख्यामा आएका छन् र अनेक रचनाकारले सशस्त्र सङ्घर्षको नेतृत्वकर्ता प्रचण्डको अतिशय देवत्वकरण र कृष्णसेन इच्छुकलाई केन्द्रीय स्रष्टाका रूपमा स्थापित गर्ने प्रयत्न गरेको देखिन्छ । यस अवधिमा माओवादी खेमाका लेखकहरूबाट गरिएका कतिपय लेखनमा पार्टी र नेताको अतिवादी उदात्तीकरण गर्ने र विरोधी खेमामा रहेका प्रगतिवादी लेखकहरूबाट सशस्त्र सङ्घर्ष गर्ने पार्टी र नेताको अतिवादी विद्रूपीकरण गरी प्रस्तुति दिने अतिवाद पनि देखा प¥यो । यस अतिवादले प्रगतिवादी साहित्य लेखनमा अत्याग्रह र पूर्वाग्रहको निम्न स्तरको स्वरूप ग्रहण गरेको देखिन्छ जुन प्रगतिवादी नेपाली साहित्य लेखनको उच्चतानिम्ति हानिकारक देखिन्छ । तर के कुरामा सन्तोष गर्न सकिन्छ भने यस अवधिमा प्रगतिवादी कलामूल्यका दृष्टिले राम्रा रचनाहरू पनि प्रशस्त मात्रामा आएका छन् ।

२०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप हुने गरी भएको डर लाग्दो ‘दरबार हत्याकाण्ड’ ले नेपालमा राजतन्त्र–अन्त्यको करिब करिब पूर्व सङ्केत गर्दै नेपाली राजनीतिमा नयाँ मोड दियो भने २०६२ सालमा संवैधानिक राजतन्त्रका विरुद्ध तत्कालीन ७ राजनीतिक दलहरूद्वारा शक्तिशाली जन आन्दोलन सुरु भयो र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गरिरहेको माओवादी पार्टी पनि सुरुमा भित्रभित्रै र पछि पूर्ण शक्तिका साथ यस आन्दोलनमा होमियो । परिणामस्वरूप २०६३ सालमा नेपालबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यस आन्दोलनमा प्रगतिवादी नेपाली साहित्य लेखनमा आन्दोलन कविता र आन्दोलन गीतको नयाँ अभियान देखियो । यस अवधिमा राजतन्त्र, सामन्तवाद र साम्राज्यवादका विरुद्धमा ठुलो कवि समूहले सशक्त आवाज मुखरित ग¥यो । राजतन्त्रको पूर्णतः अन्त्य, क्रान्तिचेत, देशभक्ति, राष्ट्रियता, गणतन्त्रात्मक चेत, सीमान्तीकृत वर्गको पहिचान, दलित, जात, क्षेत्र, लिङ्ग तथा शोषित र शासित वर्गको पक्षधरता, उत्पीडित वर्गको हकअधिकारको माग आदि यस अवधिका प्रगतिवादी नेपाली साहित्य लेखनका मुख्य विषय बने भने सीमान्तीकृत वर्गहरूबाट पहिचानसहितको स्वतन्त्रताका लागि अभिव्यक्त मुक्ति चेतना यस अवधिका रचनाहरूको बेग्लै स्वर बनेको पाइन्छ । यस अवधिमा सशस्त्र वर्ग सङ्घर्ष पार गरेर आएका स्रष्टाहरूले उपन्यास, कथा, कविता, निबन्ध र विचार प्रधान रचनाहरूका माध्यमबाट गणतान्त्रिक मुक्ति चेतनालाई सिर्जनाहरूमा रूपान्तरण गरे जुन मात्रात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा पनि सन्तोषजनक नै देखिन्छन् । यसपछिका आठनौ वर्षहरू राजनीतिक दृष्टिले लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको कसरतमा बितिरहेका र प्रगतिवादी स्रष्टाहरूले वर्गीय पक्षधरता र सीमान्तीकृत वर्गका मानिसहरूको मुक्ति चेतनालाई मुख्य स्वर बनाएर रचनाहरू रचिरहेको देखिन्छ । यस अवधिका प्रगतिवादी रचनाकारहरूमध्ये जनजाति, मधेसी, दलित र महिला पक्षधर रचनाकारहरूले वर्गीय मुद्दालाई भन्दा जातीय मुद्दा, सांस्कृतिक पहिचान, लैङ्गिक हक, दलित मुक्ति र क्षेत्रीय पहिचानलाई बढी महत्त्व दिएर रचनाहरू गरेको पाइन्छ ।

समालोचना वा चिन्तनका दृष्टिकोणले हेर्दा भने प्रगतिवादी नेपाली चिन्तक–समालोचकहरूले साहित्यको वैश्विक इतिहास, यसका मानकहरू, यसको स्वरूप र यसले लिनुपर्ने बाटो लगायतका सैद्धान्तिक पक्षहरूका बारेमा युरोप, रुस, अमेरिका र भारतका चिन्तकहरूकै वैचारिकतालाई प्रकारान्तरले ग्रहण गरेर त्यसमा नेपाली सन्दर्भ पनि जोडी सैद्धान्तिक विमर्श गरेको पाइन्छ । प्रगतिवादी साहित्य लेखनको अविरल यात्रा यतिखेर पनि जारी नै छ ।


प्रगतिवादी नेपाली साहित्य लेखनका मुख्य चुनौतीहरू

प्रगतिवादी नेपाली साहित्य लेखन (सिर्जना तथा समालोचना) का मुख्य चुनौतीहरू निम्न प्रकारका देखिन्छन् :

१. कमजोर अध्ययन परम्परा

यतिखेर खास गरी पछिल्लो पुस्ताका धेरैजसो प्रगतिवादी नेपाली साहित्यकारहरूमा अध्ययनको परम्परा कमजोर बनेको देखिन्छ । पठन संस्कृति ओझेलमा परेको स्थिति छ । नयाँ पुस्ता अध्ययनमा भन्दा चाँडोभन्दा चाँडो समाजमा चिनिन हतारिएको देखिन्छ । भटाभट लेखिहाल्ने, चाँडोभन्दा चाँडो प्रकाशन गराइहाल्ने र हल्लाखल्लाका साथ विमोचन गराउने, पत्र पत्रिका र अन्य प्रचार माध्यममा गइहाल्ने अनि आफूलाई ‘म पनि कम्ताको लेखक होइन’ भनी देखाउनमा कसरत गर्ने प्रवृत्ति बढेको छ । कुनै पनि रचना उत्कृष्ट किन हुन्छ ? कस्तो रचना प्रक्रियाबाट उत्कृष्ट सिर्जना गर्न सकिन्छ ? चर्चामा आएका र उत्कृष्ट भनिएका कृति कस्ता छन् र के कति कारणले उत्कृष्ट मानिएका हुन् ? उत्कृष्ट सिर्जनामा बाधक तत्त्वहरू के के हुन्छन् ? आदि कुराको जानकारीसहित गरिने सिर्जना बढी सुन्दर बन्ने गर्छ । त्यसका लागि प्रगतिवादी साहित्यकारसँग गम्भीर इतिहास–अध्ययन र यथार्थपरक परम्पराबोध हुनुपर्छ । प्रगतिवादी ध्रुवका उत्कृष्ट मानिएका कृृतिहरूको गम्भीर अध्ययन गर्नुका साथै प्रतिध्रुवका अति प्रचारित र उत्कृष्ट भनिएका÷मानिएका÷प्रचारित भएका कृतिहरूको पनि उत्तिकै गम्भीर अध्ययन गरी ती कृतिहरूलाई त्यसरी उदात्तीकरण गरिनुका कारणहरूको खोजी गर्नु, त्यसबाट प्राप्त निष्कर्षमध्ये काम लाग्ने कुरालाई आफ्नो सिर्जनामा प्रयोग गर्नु उत्कृष्ट सिर्जनाका लागि आवश्यक र महत्त्वपूर्ण हुन्छ तर अहिलेको प्रगतिवादी साहित्य लेखनमा यसको अभाव देखिन्छ । आफ्नो परिवेशबाट बाहिर गएर पनि अध्ययन र समालोचना गर्नु जरुरी छ तर यस दिशामा आवश्यक कार्य हुन सकेको स्थिति छैन । यसले गर्दा अध्ययन र समालोचनाको परम्परा एकाङ्गी र अपूर्ण भइरहेको छ ।

२. जनताबाट टाढा बसेर जनपक्षीय रचनाको प्रयत्न र जटिल भाषाशैली

कला साहित्यमा जनताको जीवनसँग सघन रूपमा परिचित भएर मात्रै जीवन यथार्थको सही प्रतिबिम्बन गर्न सकिन्छ तर प्रगतिवादी नेपाली साहित्यको ठुलो भाग नेपाली जनताका सुखदुखसँग राम्ररी परिचित नभई शास्त्रज्ञान र कल्पनाका आधारमा तयार पारिएको देखिन्छ । जनताका माझमा गएर जनताका भोगाइलाई प्रत्यक्ष अनुभूत गरी, आफूले पनि त्यसमा सहभागिता जनाएर तिनका सुखदुखको प्रत्यक्ष बोध गरी जनताको जीवनगत यथार्थलाई प्रस्तुत गर्नु प्रगतिवादी साहित्यकारको जिम्मेवारी हो तर यस्तो कार्य कमै लेखकबाट मात्र भएको पाइन्छ । प्रगतिवादी साहित्यकारले समाज शास्त्रीय अध्ययन गर्नु पनि जरुरी हुन्छ तर यस दिशामा पनि स्रष्टाहरूको ध्यान अपेक्षित रूपमा जान सकेको देखिन्न । लक्ष्यित समूह (जनता) कै भाषाशैलीमा कलात्मकता दिई साहित्य प्रस्तुत गर्नुपर्नेमा विद्वान् वा बौद्धिक वर्गले मात्र बुझ्ने जटिल भाषाशैलीमा अभिव्यक्तिहरू बढी आएका छन् । निश्चय नै दस वर्षको सशस्त्र सङ्घर्षसँग सघन रूपमा जोडिएका प्रगतिवादी केही लेखकहरू जनतासँग बसेर प्राप्त गर्न सकिने अनभूतिहरूसहित लेखनमा आएका छन् तर तिनमा सौन्दर्यात्मक पक्ष दुर्बल हुनाले ती पनि हलुका प्रकृतिका बन्न पुगेका देखिन्छन् । यसले गर्दा पछिल्ला प्रगतिवादी नेपाली रचनाहरूमध्येको ठुलो सङ्ख्या अनुभूतिगत प्रगाढता पाए पनि सौन्दर्यात्मक सम्पन्नता प्राप्त गर्न नसकेको अवस्थामा देखिन्छ । यसरी जनतामा नपुगीकनै जनताको वकालत गर्दै रचना गरिनुले अभिव्यक्तिमा केही मात्रामा सघन सत्यबोधको अभाव र केही मात्रामा विश्वासको सङ्कट उत्पन्न हुने स्थिति बनेको छ ।

विचारक वा चिन्तक वा समालोचकहरूको काम सम्बन्धित सिद्धान्तलाई उचित रूपमा सहजै बुझिने गरी बताउनु हो ताकि लक्ष्यित वर्गका अस्पष्टता र जिज्ञासा समाप्त होऊन् र सम्बन्धित सिद्धान्तका बारेमा उनीहरू स्पष्ट बनून् । त्यसमाथि अशिक्षित, अर्धशिक्षित, कम शिक्षित र बहुसङ्ख्यक जनतालाई वर्गीय सत्य तथा सामाजिक यथार्थसँग परिचित बनाउँदै वर्गीय मुक्तिका लागि सम्प्रेषणीय भाषाका माध्यमबाट कलात्मक भूमिका निर्वाह गर्नु प्रगतिवादी साहित्यकारको काम हो । जो राम्ररी पढेलेखेबुझेको छ उसलाई सिद्धान्त बुझाइरहनु आवश्यक नै छैन; बुझाउने त नबुझेकालाई हो, बुझ्न चाहनेलाई हो । यसो गर्नका लागि लक्ष्यित वर्गको भाषिक सामथ्र्य, शैक्षिक अवस्था र बोध गर्ने क्षमता केकस्तो र कति छ भन्ने कुरा बुझेर तदनुकूल सहज भाषाको प्रयोग गर्नु आवश्यक छ । तर नेपालका प्रगतिवादी विचारकहरूले प्रगतिवादलाई बुझाउन आफ्नो मौलिक भाषाशिल्पको भन्दा अनुकरणात्मक र प्राविधिक/पारिभाषिक भाषाशिल्पको प्रयोग आवश्यकताभन्दा बढी मात्रामा गर्दै आएको पाइन्छ । निश्चय नै सैद्धान्तिक ग्रन्थ र बौद्धिक वर्गका मानिसहरू उपस्थित हुने गोष्ठीहरूमा यस्ता पद पदावलीको प्रयोग उचित हुन्छ किनभने अनेक वाक्यले भन्नुपर्ने कुरा यस्ता पारिभाषिक तथा प्राविधिक शब्द र वाक्यहरूले एकाध पद पदावली र थोरै वाक्यमा भन्न सक्छन् तर सामान्य पाठक, जसलाई प्रगतिवादको मर्म बुझाउन र प्रगतिवादी दिशामा उन्मुख गराउन लेख वा रचना गरिएको हो, तिनमा तिनै लक्ष्यित वर्गले नबुझ्ने भाषामा जटिल र पारिभाषिक शब्दको प्रयोग गर्नु उचित होइन । यो चुनौती सम्प्रेषणीयताको समस्यासँग जोडिएको छ । यसको तात्पर्य साहित्य सिर्जना सपाट, सामान्य र हलुका भाषामा लेखिनुपर्छ भन्ने होइन; बरु अभिव्यक्ति सम्प्रेषणीय हुनुपर्छ भन्ने हो । यहाँनिर के कुरामा स्पष्ट हुनु जरुरी छ भने भन्न खोजिएका कुरा बुझिनु मात्र सम्प्रेषणीयता होइन, बरु ग्रहणकर्ता वा भावकको मनलाई छुने हुनु, पाठकको मस्तिष्कलाई झङ्कृत पार्ने हुनु र उसमाथि दीर्घकालीन प्रभाव पार्ने हुनु सम्प्रेषणीयता हो । यस पक्षमा जसरी र जति मात्रामा अभ्यास–साधना हुनुपर्ने हो, प्रगतिवादी नेपाली साहित्य लेखनमा त्यति हुन सकेको देखिँदैन ।

३. स्कुलिङ र ज्ञानान्तरणको अभाव

प्रगतिवादी नेपाली साहित्य लेखनमा स्थापित, प्रगतिवादका सैद्धान्तिक तथा प्रायोगिक मानकहरूसँग राम्ररी परिचित तथा नयाँ पुस्ताहरूबाट विश्वास गरिएका अग्रज स्रष्टाद्रष्टाहरूद्वारा प्रगतिशील तथा प्रगतिवादी धारामा लेखिरहेका र लेख्न चाहने नयाँ पुस्तालाई प्रशिक्षित गर्ने स्कुलिङको सुन्दर परम्परा यतिखेर शिथिल बनेको देखिन्छ । नयाँ पुस्ताका सिर्जनाहरूको अध्ययन गर्ने, तीमाथि वस्तुपरक तर कटु आलोचनात्मक नभई चिकित्सकीय स्नेहपूर्ण टिप्पणी र सकारात्मक मूल्याङ्कन गरिदिएर उत्साह बढाइदिने काम गर्नु र गुणग्राही समालोचनाद्वारा उत्प्रेरित गर्दै उनीहरूलाई सही दिशातिर फर्काउने प्रक्रियामा जानु प्रगतिवादी लेखनमा लाग्न थालिरहेको नयाँ पुस्ताको सबलीकरणका लागि आवश्यक हुन्छ । यसका लागि सिद्धान्तलाई आधार बनाई बढीभन्दा बढी प्रायोगिक समालोचना हुनुपर्छ । तर अग्रज पुस्ताबाट नयाँ पुस्ताका कृतिहरूको प्रायोगिक समालोचना गर्ने काम प्रायः शून्य छ भने अर्कातिर नयाँ पुस्ताको ठुलो हिस्सा व्यक्तिगत अध्ययन र हलुका बुझाइका आधारमा प्रगतिवादी लेखन गरिरहेको र त्यसैमा मख्ख परिरहेको अवस्था छ । नयाँ पुस्तामा स्पष्ट रूपमा सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगको अभ्यास नहुने हो भने भविष्यमा प्रगतिवादी साहित्य लेखन झन् बढी सामान्य बन्दै जाने छ । यस अवस्थालाई पनि प्रगतिवादी नेपाली साहित्य लेखनमा रहेको चुनौती मान्नुपर्छ । त्यसैले स्थापित भएका र आफूलाई प्रगतिवादी साहित्यको ज्ञाता मान्ने अग्रज पुस्ताले नयाँ पुस्तालाई शिक्षित, प्रशिक्षित र दीक्षित बनाउनका लागि नयाँ पुस्ताका बिचबाट विशिष्ट र सम्भाव्य देखिने प्रतिभाहरूलाई सामूहिक रूपमा ज्ञानान्तरणको कार्य गर्दै जानु अत्यावश्यक देखिन्छ ।

४. आत्म मूल्याङ्कन/आत्म समीक्षाको कमी र आत्माभिमानी अहङ्कार

प्रगतिवादी स्रष्टाद्रष्टाले आफ्ना सिर्जना र समालोचना तथा आफ्नो चिन्तन, चरित्र र कर्मका बारेमा आत्म समीक्षा बारम्बार गरिरहनुपर्छ । आत्म समीक्षाबाट आफूबाट भए÷गरिएका, गर्न बाँकी रहेका र गर्नुपर्ने कार्यहरूको बोध हुन्छ भने आफ्ना दुर्बलता, सीमा तथा सम्भावनाहरूको जानकारी प्राप्त भई आफूलाई सच्याउँदै सबल बनाउँदै अगाडि बढ्नमा सहयोग मिल्छ । चिन्तन, चरित्र र सिर्जनालाई परिष्कृत, मानक, सम्प्रेषणीय र सोद्देश्य तुल्याउन यो प्रक्रिया अँगाल्नु आवश्यक हुन्छ तर हामी यस दिशामा अपेक्षित रूपमा सफल हुन सकेका छैनौँ । हामीले आफूलाई कति हे¥यौँ ? आफ्ना दुर्बलता र अहङ्कार हटाउन कति कसरत ग¥यौँ ? आफ्ना व्यवहारमा कति सुधार ग¥यौँ ? आफूलाई प्रगतिवादी दिशामा कति बदल्याँै ? आफ्नो चरित्रमा कति रूपान्तरण ल्यायौँ ? कति मात्रामा निरन्तर आत्म समीक्षा गर्दै छौँ ? यो गम्भीर प्रश्न हो । मलाई लाग्छ, हामी आत्म समीक्षाको पाटोमा धेरै पछि परेका छौँ । परिणामस्वरूप शब्द र कर्मको एकता हुन सकिरहेको छैन र प्रगतिवादी साहित्य लेखन आवश्यक रूपमा सम्पन्न बन्न सकिरहेको छैन । यो प्रगतिवादी साहित्य लेखनका लागि ठुलो चुनौती हो ।

यसै गरी स्थापित भनिएका/मानिएका प्रगतिवादी नेपाली साहित्यका अनेक सर्जक, विचारक, चिन्तक, समालोचकहरूमा रहेको ‘मैले भनेको मात्रै ठिक हो’ भन्ने आत्माभिमानी अहङ्कार पनि प्रगतिवादी नेपाली साहित्य लेखनको ठुलो चुनौती देखिन्छ । आफ्नो भनाइलाई नै माक्र्सवाद मान्ने, आफू मात्र विद्वान् भएको ठान्ने, बोल्दा माक्र्स, लेनिन आदि अग्रजहरूले बोलेका कुराहरू नै बोल्ने तर त्यसलाई आफूले नै आविष्कार गरेको जस्तो गरी प्रस्तुत गर्ने, तथ्यको आविष्कार गर्दै सही मार्ग पहिल्याउनेतिर भन्दा आफूले भनेको कुरा नै तथ्य हो भन्ने कुरामा अड्डी लिने आत्माभिमानी अहङ्कारी प्रवृत्ति धेरैमा देखिन्छ । माक्र्सवादलाई भन्दा पनि आफूलाई विशिष्ट बनाउनमा मरिहत्ते गर्ने दिक्कलाग्दो यो प्रवृत्ति प्रगतिवादी नेपाली साहित्यमा झाँगिएको ऐजेरु हो । अरूलाई मान्छे नगन्ने, अरूलाई केही ज्ञान छैन भन्ठान्ने, अरूको योगदानलाई स्वीकार गर्न कन्जुस्याइँ गर्ने र आफूलाई मात्र आधिकारिक, विद्वान् र पढक्कड मान्ने अहङ्कारले प्रगतिवादी नेपाली साहित्यमा क्षति पु¥याइरहेको देखिन्छ ।

५. विषयगत पूर्णताको अभाव

सिर्जना र समालोचनाका लागि जुन विषय ग्रहण गरिएको हो त्यसलाई पूर्णतामा पु¥याउनु प्रगतिवादी लेखनको उद्देश्य हुन्छ । तर सिर्जना वा समालोचनाका लागि चयन गरिएको विषयमाथि गहन चिन्तन गर्ने र त्यसलाई टुङ्गोमा पु¥याई छाड्ने कार्यमा कमी भएको देखिन्छ । हामीले सांस्कृतिक वा अन्य सामाजिक विषयलाई लिएर सिर्जना गर्दा त्यसका बहुआयामिक यथार्थको बोध, तिनका कारणहरूको वस्तुवादी निक्र्योल र रूपान्तरणका लागि यथोचित दिशा निर्देश तथा दिशा निर्देशले सही रूप ग्रहण गरे÷नगरेको प्रयोगात्मक पुष्टिको गम्भीर प्रक्रियालाई अँगाल्न सके जस्तो लाग्दैन । त्यसैले यति धेरै लेखन भइसक्दा पनि, यति धेरै राजनीतिक, सामाजिक र साहित्यिक विकास र परिवर्तन भइसक्दा पनि हाम्रो प्रगतिवादी साहित्यले सांस्कृतिक रूपान्तरणका लागि आवश्यक मात्रामा प्रभावपूर्ण भूमिका निर्वाह गर्न सकिरहेको छैन । तात्पर्य के हो भने आज विषयको समग्र ज्ञान, त्यसमाथिको गम्भीर चिन्तन र त्यसलाई सिर्जना र समालोचनाका माध्यमबाट अन्तिम टुङ्गोमा पु¥याएरै विश्राम लिने सङ्कल्प र प्रयत्नको चुनौती हामीसामु छ ।

६. पार्टीगत तथा गुटगत विभाजन र सङ्कीर्णता

नेपालका वामपन्थी राजनीतिक पार्टीमा बारम्बार र लगातार हुँदै आइरहेको विभाजनले पनि प्रगतिवादी नेपाली साहित्य लेखनमा चुनौती थपिरहेको देखिन्छ । पार्टीफुटको राजनीतिका कारण पार्टीसँगै प्रगतिवादी लेखकहरू पनि पार्टी पार्टीमा छरिन पुगेका छन्, गुट गुटमा विभाजित भएका छन् । परिणामस्वरूप प्रगतिवादी खेमाका लेखकहरूबाटै एकअर्का लेखकप्रति वितृष्णा उत्पन्न गराउने काम पनि नजानिँदो किसिमले भइरहेको छ । धेरै लेखकहरू माक्र्सवादप्रतिको प्रतिबद्धतालाई भन्दा आफू संलग्न भएको पार्टीप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राखेर सङ्कुचित लेखन गरिरहेका देखिन्छन् । यस्ता लेखकहरूले पार्टी प्रतिबद्धताका नाममा कुनै न कुनै कम्युनिस्ट पार्टीको सदस्य भएमा मात्र कुनै लेखक प्रगतिवादी हुन्छ, नत्र जति राम्रो र माक्र्सवादप्रति जति प्रतिबद्ध लेखन गरे पनि ऊ प्रगतिवादी हुँदैन भन्ने किसिमको भ्रामक र यान्त्रिक मान्यतालाई प्रश्रय दिइरहेको देखिन्छ । आफ्नै वर्गका लेखकहरूको उपहास गर्ने, अपमान गर्ने र तेजोबध गर्ने काममा पनि उनीहरू प्रवृत्त भएका देखिन्छन् । सबैभन्दा चिन्ताको विषय त के देखिन्छ भने टुक्रे पार्टीका कार्यकर्ता बनेका लेखकहरूको सङ्ख्या निकै ठुलो देखिन्छ र तिनीहरू माक्र्सवाद, लेनिनवाद र माओवादप्रतिको प्रतिबद्धतामा भन्दा बढी आफू संलग्न भएको राजनीतिक पार्टीप्रतिको प्रतिबद्धतामा केन्द्रित लेखनतिर ढल्कनाले प्रगतिवादी नेपाली साहित्य लेखनको ठुलो अंश धेरै नै सङ्कीर्ण किसिमको बन्न पुगेको छ । यसबाट प्रगतिवादी नेपाली समालोचनालाई पनि ठुलो क्षति पुगेको देखिन्छ । स्थापित भनिएका प्रगतिवादी समालोचकहरूमा पार्टीगत पक्षधरता र पार्टीभित्र पनि गुटगत सङ्कीर्णताका सिकार भएर आफ्नो पार्टीका र गुटका स्रष्टाहरूको मात्र यशोगान गर्ने, अर्को पार्टी पक्षधर लेखकको उपेक्षा गर्ने (अझ उछित्तो नै काढ्ने), प्रगतिवादी सिर्जना र समालोचनामा निरन्तर काम गरिरहेको तर कुनै पनि पार्टीको सदस्यता नलिएको स्रष्टाले उत्कृष्ट प्रगतिवादी सिर्जना गरेको भए पनि समालोचनामा उसलाई महत्त्व नदिने जस्ता प्रवृत्ति बढेको अवस्था छ । कम्युनिस्ट पार्टीको सदस्य हुँदैमा कुनै लेखकको लेखन प्रगतिवादी भइहाल्ने र पार्टीमा नभएकै कारण माक्र्सवादप्रति प्रतिबद्ध भएर गरिएको लेखन पनि प्रगतिवादी नहुने अवस्तुवादी सङ्कीर्ण चिन्तन र त्यसलाई प्रश्रय दिने प्रवृत्तिले नेपाली सिर्जना र समालोचनालाई ठुलो हानि गरिरहेको छ । त्यसैले यो नकारात्मक सङ्कीर्ण गुटगत प्रवृत्ति पनि प्रगतिवादी नेपाली साहित्य लेखनका लागि ज्यादै ठुलो चुनौती बनेको देखिन्छ ।

७. भागबन्डा गर्नेे विकृत परम्पराको निरन्तरता

वामपन्थी राजनीतिमा भइरहने पार्टी विभाजनका कारण साहित्यको विकासका निम्ति भनी बनेका साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रलेसलगायतका साहित्यिक संस्थाहरूको नेतृत्व र प्रतिनिधित्वमा स्वतन्त्र रूपमा प्रगतिवादी लेखन गरिरहेका योग्य, इमानदार र दक्ष लेखकहरूले ठाउँ नपाउने अवस्था सिर्जना भएको छ । राजनीतिक पार्टीहरूले योग्यता, दक्षता र प्रतिभालाई भन्दा पार्टी सदस्यहरूलाई नियुक्ति गर्ने अत्यन्त गलत राजनीतिक परम्पराको विकास गरेका छन् र पद, प्रतिष्ठा र पैसाको लाभको लोभमा प्रगतिवादी साहित्यकारहरूको ठुलो समूह राजनीतिक पार्टीको पिछलग्गु बनेको देखिन्छ । यसले गर्दा पार्टीका पिछलग्गु साहित्यकारहरूमा साहित्य साधनामा समर्पित हुनुभन्दा पार्टी र पार्टीका शक्तिशाली नेताको नजिक हुने, तिनलाई रिझाउने र आफूलाई यस्ता संस्थाका लाभदायक र शक्तिशाली पदहरूमा नियुक्ति गर्न दबाब दिने प्रवृत्ति बढेको छ । परिणामस्वरूप प्रगतिवादी साहित्य साधना दुर्बल बन्न गएको छ । साहित्यलाई भागबन्डाको राजनीतिले निमोठ्ने यो तुच्छ परम्परा घट्नुको ठाउँमा झन् झन् बढ्दै गएको देखिन्छ । यसले गर्दा प्रगतिवादी साहित्यलाई सच्चा मनले समृद्ध पार्ने दिशामा साधना गरिरहेका इमानदार प्रगतिवादी साहित्यकारहरू निराश बन्दै छन् । त्यसैले राजनीतिक पार्टीको सदस्य नभएकै कारण र पार्टीमा भए पनि शक्तिशाली गुटको मतियार नभएकै कारण असल, इमानदार र प्रतिभाशाली प्रतिभाहरू उचित अवसरहरूबाट तथा नेतृत्वको दायित्वबाट वञ्चित भइरहनुपर्ने अवस्था उत्पन्न हुनु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेको देखिन्छ ।

८. धनात्मक पक्षमा भन्दा ऋणात्मक पक्षमा ध्यान

कृति मूल्याङ्कन साहित्यको विकास र साहित्यिक प्रतिभालाई मिल्ने उत्प्रेरणाको महत्त्वपूर्ण आधार हो । कृति मूल्याङ्कन गर्दा प्रगतिवादी समालोचकहरूको ध्यान माक्र्सवादी (वर्गीय पक्षधरतासहितको तथा तुलनात्मक र सापेक्षित) सौन्दर्य चिन्तनअनुरूपको हुनु जरुरी छ । सिर्जनामा स्रष्टाका सबल र दुर्बल दुवै पक्ष हुन सक्छन् । दुवै पक्षको विश्लेषण न्यायपूर्ण रूपमा गरिनुपर्नेमा प्रायः दुर्बल पक्षहरूको खोजी परिश्रमका साथ गर्ने र स्रष्टाको उत्साह नै ध्वस्त पार्ने किसिमले आलोचना गर्ने तर सबल पक्षहरूको प्रशंसा गर्नमा कन्जुस्याइँ गर्ने प्रवृत्ति धेरैजसो प्रगतिवादी समालोचकहरूमा पाइन्छ । समालोचना वा टिप्पणी गर्न भनी दिइएको वा लिइएको सिर्जनामा खोटहरूको मात्र खोजी गरी समालोचना गर्नु अत्यन्त खराब काम हो । कतिपय स्रष्टाहरू भावनामा र नियतमा प्रगतिवादका पक्षधर भए पनि सिद्धान्त राम्ररी नबुझेको कारण, प्रगतिवादी रचनाधर्मितासँग अभ्यस्त र स्पष्ट नभएका कारण तथा अभ्यास र साधनाको कमीका कारण प्रगतिवादी रचना गर्न खोज्दाखोज्दै पनि आलोचनात्मक यथार्थवाद, मानवतावादी आदर्शवाद, स्वच्छन्दतावादी भावुकता आदिको सिकार हुने गर्छन् र तिनका रचनामा केही कमजोरी रहन जान्छ । यस्ता स्रष्टाहरूलाई स्नेहका साथ हेरी उनीहरूका सबल पक्षको प्रशंसा गर्दै कमजोर पक्षमा आत्मीयतापूर्ण सुझाव दिएर उत्साह बढाउने तथा परिमार्जित र परिष्कृत हुन उत्प्रेरित गर्ने किसिमले समालोचना गर्नु जरुरी छ । तर प्रगतिवादी नेपाली साहित्य लेखनमा यस्तो हुन सकिरहेको छैन । यही अभावका कारण प्रगतिवादी साहित्य लेखनमा संलग्न भएर उल्लेखनीय सिर्जना गर्न सक्ने सम्भावना बोकेका अनेक प्रतिभाहरूले प्रतिध्रुवीय कित्तामा पलायन गरेका छन् । प्रगतिवादी समालोचकहरूका असहिष्णु टिप्पणीहरू तथा प्रगतिवादी समालोचकहरूले अभिप्रेरणा र स्नेहपूर्ण सहयोगको आशा गरेका लेखकहरूप्रति अनावश्यक रूपमा गर्ने निर्मम आलोचना र उनीहरूको उपेक्षा गर्दै उनीहरूका सिर्जनामाथि समालोचना नै नगरिदिने गरेकाले पनि प्रतिभाशाली र सम्भाव्य प्रगतिवादी प्रतिभाहरूको पलायन भई नै रहेको देखिन्छ । प्रगतिवादी नेपाली साहित्य लेखनका लागि यो पनि एक विचारणीय चुनौती हो ।


९. शास्त्रमा बढी जोड, प्रयोगद्वारा पुष्टिको उपेक्षा र अतिवाद

प्रगतिवाद शास्त्र पनि हो, प्रयोग पनि हो र विज्ञान पनि हो । यी तिनै प्रकारका पक्षलाई समान महत्त्व दिएर सिर्जना तथा समालोचना गर्नु जरुरी छ तर प्रगतिवादी नेपाली साहित्य लेखनमा यस्तो सन्तुलनको अभाव देखिन्छ । धेरैजसो समालोचकहरूको ध्यान शास्त्र (सिद्धान्त) मा गएको देखिन्छ तर प्रयोगद्वारा वैज्ञानिक पुष्टि गर्नतिर गएको देखिन्न । सिद्धान्तको मार्ग दर्शनमा हिँड्दै व्यवहार र प्रयोगद्वारा कथ्यको पुष्टि गर्ने रचनाधर्मिता नै वास्तवमा प्रगतिवादी रचनाधर्मिता हो । समालोचक र चिन्तकले सिद्धान्त पक्षलाई आफूले बुझेर मात्र पुग्दैन; पाठकलाई पनि बुझाउन सक्नुपर्छ । स्थापित प्रगतिवादी नेपाली चिन्तक, समालोचक र विचारकहरूका कृति, कार्यपत्र र अवधारणा पत्रहरू पढ्दा कस्तो लाग्छ भने उनीहरूले आफूले त कुरा बुझेका छन् तर अरूलाई बुझाउने सामथ्र्य कमै राख्छन् । ठुला ठुला, बोझिला र जटिल पद पदावलीको प्रयोगले उनीहरूको अभिव्यक्ति उनीहरू जस्ता केही व्यक्तिलाई मात्र बोध्य बन्ने किसिमको बनेको देखिन्छ । स्थापित भनिएका प्रगतिवादी समालोचकहरूले प्रयोगद्वारा सिद्धान्तको पुष्टि गर्ने प्रक्रिया अँगाल्नुपर्नेमा पुस्तकहरूमा लेखिँदै आएका सिद्धान्तको रटान र पूर्वजहरूका भनाइहरूको सङ्कलन÷सङ्ग्रह गर्नुमा नै धेरै परिश्रम खर्च गरिरहेको समालोचकीय अवस्था देखिन्छ । सत्य एउटा हुन्छ । त्यसलाई सोही रूपमा हेर्दै प्रयोगका तहमा वैज्ञानिक भए/नभएको ठम्याउनु प्रगतिवादी समालोचनाको धर्म हो तर यो काम जिम्मेवारीबोधका साथ भइरहेको अवस्था थोरै छ । तात्पर्य के हो भने प्रगतिवादी नेपाली साहित्य लेखनमा शास्त्र धेरै भेटिन्छ; प्रयोग कम देखिन्छ । यसरी शास्त्रमा बढी जोड दिने र प्रयोगबाट पुष्टि भए÷नभएको कुरामा ध्यान नदिने प्रवृत्ति पनि एउटा चुनौती बनेको छ ।

यसै गरी सिद्धान्त र प्रयोगमा देखिने अतिवाद पनि प्रगतिवादी नेपाली साहित्य लेखनको विचारणीय चुनौती हो । सिद्धान्तनिष्ठ हुने नाममा जडता र समयानुरूप सिर्जनशील प्रयोग गर्ने नाममा सिद्धान्तहीनता÷अराजकता प्रगतिवादी नेपाली साहित्य लेखनमा लामो समयदेखि देखा परेका अतिवादगत चुनौती हुन् । सिद्धान्तनिष्ठ हुने नाममा देखिने अतिवादले प्रगतिवादी साहित्य लेखनमा नीरसता, अनाकर्षण र विकर्षणको चुनौती थपिदिएको छ भने सिर्जनशीलताको नाममा देखिने अतिवादले माक्र्सवादी सौन्दर्य चिन्तनको मूल मार्गबाट हुने विचलनको चुनौती थपिदिएको छ । माथि भनिए जस्तै माक्र्सवादी सौन्दर्य चिन्तन र रचनाधर्मिताका बारेमा गम्भीर विमर्श र उचित स्कुलिङको अभावमा यो चुनौती प्रगतिवादी नेपाली साहित्य लेखनमा आलोच्य बेथितिका रूपमा चलिरहेकै देखिन्छ ।

१०. चिन्तनमा समूहिकतावाद, चरित्रमा व्यक्तिवाद

प्रगतिवाद सामूहिकतामा जोड दिने साहित्य चिन्तन हो । यसले सामूहिक चेतना, सामूहिक हित, सामूहिक श्रम, सामूहिक सङ्घर्ष, सामूहिक उत्थान, सामूहिक सहकार्य लगायतका सामूहिक उद्देश्य र तदनुकूलका क्रियाकलाप तथा अत्यधिक जनताका पक्षमा सिर्जनात्मक भूमिका खोज्छ भने मुख्य उत्पादक शक्तिका रूपमा रहेको श्रमजीवी जन समूहको उच्च मूल्याङ्कनमा जोड दिन्छ । तर नेपालका प्रगतिवादी केही साहित्यकार (स्रष्टा र द्रष्टा) हरू चिन्तनमा त सामूहिकतावाद प्रस्तुत गरिरहेका देखिन्छन् तर चरित्रमा व्यक्तिवादी देखिन्छन् । चिन्तनमा सामूहिकताको र व्यवहारमा व्यक्तिवादको यस्तो विरोधाभासले प्रगतिवादमाथि संशय बढाएको छ; प्रगतिवादीहरूका बिचको एकतामा भाँजो हालेको छ भने प्रगतिवादतिर उन्मुख भइरहेको र सिक्न खोजिरहेको नयाँ पुस्तामा विश्वासको सङ्कट पनि थपेको छ । सच्चा प्रगतिवादी स्रष्टाद्रष्टाको काम प्रगतिवादी साहित्यप्रतिको प्रतिबद्धता हुनुपर्छ तर अहिले प्रगतिवादी साहित्यकारहरूमा प्रगतिवादी साहित्यप्रतिको प्रतिबद्धता भन्दा बढी आत्म प्रचार, आफ्नो स्थापना, आफ्नो प्रसिद्धि र आफ्नो प्रतिष्ठाप्रतिको प्रतिबद्धता बढी देखिन्छ । यस प्रवृत्तिका लेखकहरू प्रगतिवादी नेपाली सृजना र समालोचनाको विकासका निम्ति आफूलाई समर्पित गर्नेतिर भन्दा आफ्नो नामको स्थापना, आफ्नो नामको प्रचार र आफ्नो प्रतिष्ठाको वृद्धि गर्नका लागि प्रगतिवादलाई हतियार बनाउने दिशामा कसरत गरिरहेका देखिन्छन् । परिणामस्वरूप उनीहरूमा व्यक्तिगत स्वार्थका लागि विरोधी वर्गसँग साँठगाँठ गर्ने, आत्म प्रशंसामा रमाउने, आफ्नो वर्गका लेखकहरूको भन्दा अर्को वर्गका लेखकहरूको बढी प्रशंसा गर्ने, अर्को पार्टीको लेखकलाई समालोचना, विचार गोष्ठी, कार्यशाला गोष्ठी, वैचारिक विमर्शक्षेत्र आदिमा सकेसम्म स्थान नदिने र दिइहाले पनि उपेक्षा र तिरस्कारका दृष्टिले हेर्ने, आफ्नो आलोचना सुन्नै नसक्ने जस्ता व्यक्तिवादी प्रवृत्ति हावी भएका देखिन्छन् । माक्र्सवादी सौन्दर्य चिन्तनका मानकहरूलाई केन्द्रमा राख्नुपर्नेमा आफू (व्यक्ति) लाई केन्द्रमा राखेर सिर्जना र समालोचना गर्ने यो प्रवृत्ति पनि यस क्षेत्रको एक चुनौती हो ।

११. वर्गीय मुद्दाको उपेक्षा र सीमान्तीकृत समूहको मुद्दालाई प्राथमिकता

प्रगतिवादी रचनाधर्म अँगालिरहेका केही सर्जक तथा समालोचकहरू पछिल्लो समयमा (मूलतः साठीको दशकमा) वर्गीय मुद्दालाई भन्दा जातीय, क्षेत्रीय, लिङ्गीय र दलित समूहका मुद्दालाई केन्द्रमा राखेर साहित्य सिर्जनामा प्रवृत्त हुँदै आएको देखिन्छ । नेपाली समाजमा सीमान्तीकृत समूहका मुद्दाहरू निश्चय नै ठुला र सम्बोधन गर्नै पर्ने किसिमका छन् र तिनलाई सम्बोधन गर्ने सबैभन्दा उचित समय पनि यही अवधि नै हो किनभने जनताका हकहित सुरक्षित पार्ने उद्देश्यले संविधान बन्ने प्रक्रिया यसै अवधिमा चलिरहेको छ । तर फेरि पनि सत्य त के हो भने सीमान्तीकृत समूहका समस्याको सही समाधान वर्गीय समस्याको समाधानकै प्रक्रियाअन्तर्गत हुने हो । वर्गीय समस्याको समाधान नभएसम्म सीमान्तीकृत समूहका सम्पूर्ण समस्या समाधान हुनु सम्भव नै छैन किनभने सीमान्तीकृत समूहका हकहरू प्राप्त भएपछि पनि तिनै वर्गभित्र वर्गीय समस्या बाँकी नै रहन्छन् । अहिले नेपाली राजनीतिमा जुन सकस र जुन डरलाग्दो हिंस्रक आन्दोलन देखा परेको छ, यो एक किसिमले वर्गीय मुद्दाभन्दा जातीय प्रकृतिका सीमान्तीकृत मुद्दालाई प्रमुख मान्ने गलत चिन्तनको परिणाम हो । पछिल्लो समयमा प्रगतिवादी भनिने केही स्रष्टाद्रष्टाहरूबाटै सीमान्तीकृत समूहको मुक्तिका नाममा ‘माक्र्सवादको मूल दर्शन नै गलत हो’ भन्ने तरिकाले र ‘वर्गीय मुद्दाभन्दा सीमान्तीकृत मुुद्दा प्रमुख हो’ भन्ने मान्यतामा आधारित रचना गर्न थालिएको देखिन्छ । यो माक्र्सवाद विरोधी धारणा र प्रयोग हो । त्यसैले यो पनि साठीको दशकदेखि आएको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेर देखा परेको छ ।

१२. विद्वत्ताको आधिक्य, बुद्धिमानीको कमी

प्रगतिवाद र माक्र्सवादसित सम्बन्धित कृतिहरू पढेर, घोकेर र ठाउँ ठाउँमा तिनै पढेका घोकेका भनाइहरूको उद्धरण गरेर नेपालका अनेक प्रगतिवादी लेखकहरू विद्वान् बनेका देखिन्छन् तर उनीहरूले नेपाली साहित्यलाई प्रगतिवादी रचनाधर्मिताको उच्चतामा पु¥याउन देखाउनुपर्ने बुद्धिमानी देखाउन सकिरहेको स्थिति छैन । यस्ता विद्वान्हरू माक्र्सले यसो भनेका छन्, एङ्गेल्सले यस्तो भनेका छन्, माओले येनान गोष्ठीमा यो कुरा गरेका छन्, लेनिनका भनाइ यी यी हुन्, आफानास्येभ यस्तो भन्छन्, कडवेल र गोर्कीको धारणा यो छ आदि आदि कुरा गर्न सक्षम छन् तर नेपालका सन्दर्भमा, आजको परिवर्तित विश्वका सन्दर्भमा प्रगतिवादको नयाँ मार्ग यो हुन सक्छ भन्ने ठोस, तथ्यपूर्ण र समयोचित मार्गदर्शन गराउन सक्ने मौलिक विश्लेषण गर्न सकिरहेका छैनन् । हामीमा अरूका भनाइको उद्धरण गरेर विद्वत्ता प्रदर्शन गर्ने र बुद्धिविलास गर्ने प्रवृत्ति प्रशस्त छ तर विश्व सन्दर्भमा नयाँ यथार्थको नयाँ विवेचना र मौलिक मूल्याङ्कन गर्ने बौद्धिकता कम भेटिन्छ । माक्र्स एङ्गेल्सहरूले त्यस समयको सापेक्षतामा जे भने त्यो सही थियो र उनीहरूले आधारभूत रूपमा समाज, त्यसको विकास, वर्ग र वर्गीय पक्षधरता तथा व्यक्ति आदिका बारेमा गरेका विश्लेषण सही नै छन् तर आजको अवस्थामा त्यतिले मात्र समग्र विश्लेषण हुन सक्छ कि सक्दैन भन्ने कुरामा गम्भीर मन्थनको आवश्यकता छ । यस्तो मन्थन गरेर निस्केका निष्कर्षहरूका आधारमा मात्र नयाँ यथार्थको नयाँ विश्लेषण र मौलिक मूल्याङ्कन हुन सक्छ र यस्तो नयाँ विश्लेषण र मौलिक मूल्याङ्कनका आधारमा मात्र नयाँ चुनौतीहरूको सामना गर्न सकिन्छ । विद्वान् हुनु र बुद्धिमान् हुनुमा फरक छ । नेपाली समालोचना विद्वान् त बन्यो तर बुद्धिमान् बन्न सकेको छैन । विद्वत्ता र बुद्धिमानीको संश्लेषण गर्न नसक्दासम्म यो चुनौती रहिरहने निश्चित छ ।

१३. मनोवैज्ञानिक उद्घाटन–विश्लेषणतिर कम ध्यान


प्रगतिवादी नेपाली साहित्यकारहरूले जुन ओज, जुन यथार्थबोध र जुन वैज्ञानिकताका साथ समष्टि (बाह्य) यथार्थलाई प्रस्तुत गर्न सकेका छन्; त्यसको तुलनामा व्यष्टि (आन्तरिक/वैयक्तिक) मनोविज्ञालाई पक्रेर गम्भीर मनोविश्लेषणका साथ मनोवैज्ञानिक यथार्थको चित्रण गर्न सकेको स्थिति छैन । पक्षधरता समाजकै, सामूहिकताकै र समष्टिकै हुनुपर्छ तर समष्टिको यथार्थमा व्यक्ति मनोविज्ञानको भूमिकालाई पनि महत्त्व दिनु आवश्यक हुन्छ । माक्र्सवादले व्यष्टि र समष्टिको विशेष व्याख्या गरेको छ र सारभूत रूपमा त्यो सही नै छ तर व्यष्टि मनोविज्ञानको उपेक्षा गरिएमा सम्पूर्ण यथार्थ÷सत्यको बोध गर्न सकिन्न भन्ने कुरामा हामी प्रगतिवादी स्रष्टाद्रष्टाहरू केही पछि परेका हौँ कि भन्ने मलाई लाग्छ । मनोविश्लेषणको पक्षलाई पनि उत्तिकै गम्भीर रूपमा ग्रहण गरी सामाजिक यथार्थको वस्तुवादी प्रतिबिम्बन गर्न सकिएमा प्रगतिवादी साहित्यले प्रतिध्रुवीय साहित्यलाई सहजै उछिन्न सक्छ । यस दिशामा गम्भीरतापूर्वक ध्यान दिन नसक्नु पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ ।

१४. बजार व्यवस्थान र प्रचारप्रसारको कमी

प्रगतिवादी नेपाली साहित्य लेखनलाई लक्ष्यित वर्गसम्म पु¥याउन र भावक मनमा प्रगतिवादी कृतिबारेको जानकारी दिन, प्रगतिवादी साहित्यप्रति भावकको उत्सुकता बढाउन तथा यस्ता कृतिहरू पढ्नेतिर उनीहरूलाई अभिप्रेरित गर्नका लागि कृतिहरूको प्रचारप्रसार र उचित बजार व्यवस्थापनको आवश्यकता हुन्छ तर प्रगतिवादी नेपाली साहित्यको प्रचारप्रसार र जनतासम्म पहुँच हुने किसिमको बजार व्यवस्थापनको अभाव छ । कुनै कृति किन्न मन लाग्यो भने पाठकले आफूले चाहेको ठाउँमा किन्न पाउँदैन । देशभरिका कुरा छाडिदिऊँ, राजधानीका एकाध पसलमा बाहेक अन्य पसलमा प्रगतिवादी कृति भेटिन्नन् र ती एकाध ठाउँमा पनि एकाध स्रष्टाका रचनाहरू मात्र भेटिन्छन् । प्रगतिवादी नेपाली साहित्यलाई सही अर्थमा लक्ष्यित वर्गसम्म पु¥याउनै पर्छ किनभने सुविधा सम्पन्न एकाध सहरका एकाध पसलमा राखिएका यस्ता एकाध सामग्री बौद्धिक वर्गका लागि मात्र सहयोगी हुन्छन् । त्यस्तै मिडिया पनि प्रगतिवादी साहित्यका लागि त्यति मैत्रीपूर्ण देखिन्न । प्रतिध्रुवका साहित्यकारहरूका लागि ठुला प्रकाशन गृह र शक्तिशाली मिडिया हाउसहरू सहज छन् तर प्रगतिवादी साहित्यको प्रचारका लागि मिडियाहरूले राम्रो भूमिका खेलेको स्थिति देखिन्न । वापपन्थी राजनीतिक पार्टीहरू लगातार सत्तामा रहँदा पनि सांस्कृतिक रूपान्तरणका लागि आवश्यक मिडिया हाउसहरूको निर्माण गर्नेतिर ध्यान दिन सकेनन् । अहिलेको युग प्रचार प्रसारको युग भएकाले र त्यसको बागडोर मिडियाहरूको हातमा रहेको स्थितिमा प्रगतिवादी नेपाली साहित्यको पहुँच मिडियाहरूमा कम हुनु पनि एक चुनौती नै देखिन्छ ।

१५. सीमित घेरामा सङ्कुचन

प्रगतिवादी साहित्यलाई विस्तारित गर्न यसलाई व्यापक पाठकभूमिमा पु¥याउनुपर्ने हुन्छ । त्यो तब मात्र सम्भव हुन्छ जब प्रगतिवादी पक्षधर र समर्थकबाहेकका पाठकहरूलाई पनि प्रगतिवादी साहित्यतिर आकर्षित गर्न सकिन्छ । यसका लागि त्यस्ता कार्यक्रमहरूको आवश्यकता छ जुन कार्यक्रममा (कविता वाचन, विमर्श गोष्ठी, विचार गोष्ठी आदिमा) प्रगतिवादेतर समूह पनि सहभागी होओस्; दुवै पक्षका रचनाहरू संयुक्त रूपमा सुनियून्, सुनाइयून् र भावकहरूलाई दुवै पक्षका सिर्जनाहरूको उच्चता बुझ्न, तुलना गर्न र मूल्याङ्कन गर्नमा सहयोग मिलोस् । त्यस्ता कार्यक्रमहरूमा उत्कृष्ट प्रगतिवादी रचनाहरू प्रस्तुत गरेर यस धाराको सम्मान, विश्वास, विचारधारा आदिको उदात्तीकरण गर्ने अभियान सञ्चालन गर्नु जरुरी छ तर प्रगतिवादीहरूले गर्ने कार्यक्रमहरूमा प्रायः उनै व्यक्ति, उनै श्रोता, एउटै पारा र उही साँघुरो घेराको उपस्थिति तथा झन्डै उनै उनै अभिव्यक्तिहरूको एकरसता पाइन्छ । यस्तो एकरसता र साँघुरो घेरा तोडेर प्रतिध्रुवसामु चुनौती उपस्थित गर्ने गरी कार्यक्रमहरूको आयोजना गर्नु पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ ।

१६. सामन्तवादी संस्कृतिको प्रतिध्रुवमा वैकल्पिक संस्कृतिको अभाव

सांस्कृतिक रूपान्तरणका लागि कलात्मक भूमिका खेल्नु प्रगतिवादी साहित्यको मुख्य दायित्व हो । दसैँ, तिहार, तिज आदि अनेक संस्कृति सामन्तवादी संस्कृतिका रूप हुन् । प्रगतिवादी साहित्यले लेखनका तहमा लामो समयदेखि यस्ता संस्कृतिको विरोध गर्दै र प्रगतिशील सांस्कृतिक रूपान्तरणका कुरा उठाउँदै आएको पाइन्छ । तर विकल्प के त ? भन्ने प्रश्नको प्रयोगात्मक जवाफ दिन सकेको छैन । दसँै आदि पर्वहरु सामन्तवादी भएकाले मनाउनु हुँदैन भन्नेहरूले यस्ता उत्सव नमनाएका पनि होलान् तर आम जन समूह वा साधारण मानिस दसैँ, तिहार आदि पर्वहरूमा जसरी जम्मा हुन्छन्, जसरी बेग्लै पाराले रमाउँछन्, जसरी आत्मीयता साटासाट गर्छन्, जुन भावना बोकेर टाढा टाढाबाट घर फर्कन्छन् तथा बाआमा र आफन्तलाई भेट्छन्, जसरी आपसी आत्मीयतालाई पुनर्ताजगीकरण गर्छन्, त्यसको विकल्पमा प्रगतिवादी संस्कृतिको स्वरूप कस्तो र के हुन सक्छ ? कसरी हुन सक्छ ? सहिद दिवस वा मई दिवस वा कृषि दिवस वा गणतन्त्र दिवस वा अन्य त्यस्ता दिवसको नाम विकल्पका रूपमा लिन सकिए पनि ती दिनहरूलाई उत्सवमय पार्न के गर्न सकिन्छ ? मानिसहरूमा त्यस दिनप्रति आस्था, श्रद्धा, विश्वास र प्रेम जगाउने आधार के हुन सक्छन् ? भन्ने कुरा बुझाउन सकिएको स्थिति छैन, विश्वास दिलाउनुको कुरा त टाढै छ । यसले गर्दा सिद्धान्तमा प्रगतिवादी संस्कृतिको वकालत गरिए पनि व्यवहारमा सामन्तवादी संस्कृतिमै रङमङिएको समाज यथावत् छ । त्यसैले चिन्तनमा मात्र प्रगतिवादी नभई व्यवहार, प्रयोग र चरित्रमा पनि प्रगतिवादी बनाउन सहयोग पु¥याउने गरी वैकल्पिक संस्कृतिको सिर्जना गर्नु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेको छ ।

१७. उत्तर आधुनिकतावादको बढ्दो र फैलँदो प्रभाव

उत्तर आधुनिकतावादको बढ्दो र फैलँदो प्रभाव पनि प्रगतिवादी नेपाली साहित्य लेखनका लागि एक चुनौती हो । नित्सेको ‘ईश्वरको मृत्युको घोषणा’ र शून्यवादी दर्शन, ल्योतारको ‘महाआख्यानको अन्त्य’ सम्बन्धी धारणा, ड्यानियल बेलको ‘वर्ग सङ्घर्षको अन्त्य’ को धारणा, फुकियामाको ‘इतिहासको अन्त्य’ को धारणा, मिसेल फुकोको ‘कर्ताको अन्त्य’ को धारणा, रोलाँ बार्थको ‘लेखकको मृत्यु’ को धारणा, डेरिडाको विनिर्माणवाद र साहित्यलाई कुनै पनि विधामा नभई केवल पाठमा सीमित गरी प्रस्तुत गर्ने चिन्तनहरू आदिको प्रभाव नेपाली साहित्यमा र त्यसमा पनि नेपालका युवा साहित्यकारहरूमा बढी नै पर्न थालेको छ । केन्द्र भञ्जन, बहुलता, स्थानिकता, लघुकेन्द्रको स्थापना, पाठको विखण्डन, भाषिक खेल, सामाजिक मूल्यप्रतिको अस्वीकृति, शास्त्रीयताको विनाश आदि मान्यतासहितको उत्तर आधुनिकतावादले प्रगतिवादी नेपाली साहित्यमा नयाँ चुनौती खडा गरेको छ । पछिल्लो अवधिमा देखा परेका केही साहित्यिक अभियानहरू (सिर्जनशील अराजकता, रङ्गवाद, आमूल नारीवाद (¥यारिडकल फेमिनिज्म), जातिवादी रचनाशीलता र उत्तरवर्ती सोचका अभियान र तीअन्तर्गतका रचनाहरू आदि उत्तर आधुनिकतावादी चिन्तनको प्रभावमा आएका देखिन्छन् । लेखक र पाठक दुवैलाई भ्रमित पार्ने गरी उत्तर आधुनिकतावादले प्रस्तुत गर्ने बहुलवादबाट प्रगतिवादोन्मुख लेखनमा लागेका अनेक साहित्यकार भ्रमित बनेका देखिन्छन् । यस्तो स्थितिमा सांस्कृतिक साम्राज्यवाद तथा सांस्कृतिक उपनिवेशवादलाई विस्तारित गर्नका लागि उत्तर आधुनिकतावादले खेलेको भूमिका के हो भन्ने कुरा चित्तबुझ्दो गरी बुझाएर यस वादको नकारात्मक प्रभावबाट मुक्त गर्न प्रगतिवादीहरूका तर्फबाट गरिनुपर्ने काम तथा चाल्नुपर्ने सङ्गठित र योेजनाबद्ध अभियान आवश्यक मात्रामा हुन र चल्न सकेका छैनन् । पछिल्लो अवधिमा प्रगतिवादी साहित्यकारहरूभित्र व्यक्तिवाद हावी हुनमा र सैद्धान्तिक विचलनहरू देखिनुमा उत्तर आधुनिकतावादी चिन्तनको पनि भूमिका देखिन्छ । यो प्रगतिवादी नेपाली साहित्य लेखनमा पछिल्लो अवधिमा देखा परेको ठुलो चुनौती हो भन्ने मलाई लाग्छ ।

१८. पुँजीवादी भूमण्डलीकरण र पुँँजीवादी अर्थतन्त्र

यतिखेर पुँजीवादी भूमण्डलीकरणको बोलबाला छ र यसले पुँजीवादी अर्थतन्त्र र पुँजीवादी बजारीकरणको विश्वव्यापी विस्तार गरेको छ । यसले सांस्कृतिक तथा आर्थिक साम्राज्यवादलाई नयाँ शैलीमा र नयाँ शक्तिका साथ विकसित गरिरहेको देखिन्छ । सूचनाको साम्राज्य, बहुराष्ट्रिय कम्पनीहरूमा एकाधिकार, धार्मिक उपनिवेशवादको सबलीकरण, साइबर संस्कृति, ग्लामर संस्कृति र फेसन संस्कृति लगायतका सांस्कृतिक उद्योगहरूको विस्तार पुँजीवादी भूमण्डलीकरणका मुख्य आधार बनेका देखिन्छन् । यो वाद विश्वभरि आर्थिक र सांस्कृतिक वर्चस्व कायम गर्न सफल पनि भइरहेको छ भने यसको प्रभाव कला साहित्यमा पनि चर्को रूपमा पर्दै गएको देखिन्छ । सञ्चार र यातायातका क्षेत्रमा भएको अद्भुत विकास र शैक्षिक क्षेत्रमा भएको पुँजीवादी विश्वव्यापीकरणका कारण प्रगतिवाद विरोधी भूमण्डलीकरणको प्रभाव ज्यादै नै शक्तिशाली बनेको अवस्था छ । नेपालका वामपन्थी राजनीतिक पार्टी र तिनका सहयोगी संयन्त्रहरूमा भूमण्डलीकरणको पुँजीवादी प्रभाव निरन्तर बढ्दै गएको स्थितिमा प्रगतिवादी नेपाली साहित्यले पुँजीवादी भूमण्डलीकरणले थपिदिएका नयाँ बाधाहरू चिर्दै अगाडि बढ्न थप चुनौतीको सामना गरिरहनुपर्ने देखिन्छ ।

१९. पुँजीवादको मूल्याङ्कन र वर्ग विश्लेषणमा रूढता र स्थिरता

पुँजीवाद मरणासन्न अवस्थामा छ भन्ने माक्र्सवादी विश्लेषणका बारेमा स्पष्ट जानकारी नहुँदा र वर्तमानको भूमण्डलीकरण र उत्तर आधुनिकतावादको प्रभावका कारण प्रगतिवादी नेपाली साहित्य लेखनमा लागेका धेरै प्रतिभाहरु अलमलमा छन् । अमेरिका, युरोप र बेलायततिर गएर आएका तथा त्यहाँको जीवन पद्धति र व्यवस्थाका बारेमा सुनेका प्रतिभामा र सामान्य जनतामा पुँजीवाद मरणासन्न छ भन्ने कुरामा विश्वास उत्पन्न हुन सकेको छैन । त्यसैले उनीहरु फरक बुझाइमा छन् । उनीहरुका अनुसार “माक्र्सवादी वा कम्युनिस्टहरूका लागि पछिल्लो समयमा देखिने सबैभन्दा ठुलो चुनौती भनेको वर्तमान पुँजीवादको मूल्याङ्कन र आजको सन्दर्भमा गर्नुपर्ने वर्ग विश्लेषणमा रहेको कमजोरी हो । माक्र्सवादीहरुमा आजको सन्दर्भलाई सही रूपमा बुझ्ने र वस्तुवादी विश्लेषण गर्नेतिर पद्धतिभन्दा पुरानै ढाँचाले गरिँदै आएको वर्ग विश्लेषण गर्ने पद्धति देखिन्छ । यस पद्धतिमा रूढता र स्थिरता देखिन्छ । माक्र्स, एङ्गेल्स र लेनिनले वर्ग विश्लेषण गर्दाको संसार र आजको संसारमा रूप र सार दुवैतर्फ निकै ठुलो परिवर्तन भएको छ । माक्र्सले देखेका सर्वहारा र आजका सर्वहारामा धेरै फरक आइसकेको छ । माक्र्सको समयमा जर्मन, बेलायत र अमेरिकातिरको सर्वहारा बोल्न पाउन्नथ्यो, सङ्ठगन गर्न स्वतन्त्र थिएन, घरबारविहीन थियो, जीविकाका लागि आयस्रोत थिएन, फाटेका लत्ताकपडामा रहन्थ्यो, बस्ने कोठा बाख्रासुँगुरको खोर जस्तो थियो, बैंक ब्यालेन्स थिएन, पुँजीपतिहरू उनीहरूमाथि दासलाई जस्तो व्यवहार गर्थे, यस्ता अनेक तुच्छताका बिच कारुणिक, निरीह र दयनीय जीवन बाँच्न विवश थियो, ऊसँग बाँच्नका लागि धेरै विकल्पहरू थिएनन् तर आज ती देशको सर्वहारा वर्ग (मजदुर) धेरै बदलिएको छ । ऊसँग निजी कार छ, उसको कोठा नेपाल जस्ता गरिब मुलुकका मध्यम वर्गका मानिसहरूको भन्दा सफा छ । ऊ ट्वाइलेट सफा गर्न जाँदा कारमा जान्छ भने ट्वाइलेट सफा गर्नका लागि ऊसँग बेग्लै जोडी कपडा हुन्छन् । नेपालको पुँजीपतिले लगाएसरहका राम्रा कपडा लगाएर हिँड्छ, जहाँ काम गर्छ त्यहाँ पनि ऊ कामसँग सम्बन्ध राख्छ, अपमानित बन्दैन । अवस्था कतिसम्म बदलिएको छ भने नेपाल जस्ता गरिब मुलुकका मध्यम वर्गका धनी मानिसहरू, उच्च पदस्थ कर्मचारीहरू, चर्चित गायक, अभिनेता र कलाकारहरू तथा प्राध्यापक र साना साना व्यापारीहरूसमेत ती देशमा त्यहाँका सर्वहारा वर्गका मानिसले गर्ने काम गर्नका लागि आफ्नो देश छाडेर गइरहेका छन् । यस्तो किन भएको छ ? के छ त्यहाँको पुँजीवादमा ? गरिब राष्ट्रका पुँजीवालहरू पनि ती देशका सर्वहारा बन्न किन तयार छन् ? यो गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने विषय हो । त्यहाँको पुँजीवादले माक्र्सवादले उठाएका वर्गीय समस्या र वर्गीय विद्रोहका कारणहरूमाथि गम्भीर विमर्श गरेको छ र माक्र्सवादबाट हुन सक्ने आफूमाथिको खतरा बुझेको छ । त्यसैले आफ्नो पुँजीवादमा माक्र्सवादका राम्रा कुराहरूलाई समावेश गर्दै गएको छ । माक्र्सवादले उठाएको गाँस, वास र कपासको समस्याबाट जनतालाई मुक्त गर्ने प्रयास गरेको छ । पैसा नभएका नागरिकले निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ । सन्तानबाट अलग्गिएको वृद्ध पुस्तालाई वृद्धाश्रमको व्यवस्था गरेको छ । बेरोजगारका लागि बेराजगार भत्ताको व्यवस्था गरेको छ । आफ्नो पुँजीवादी मूल धर्मलाई सुरक्षित राख्दै उसले सर्वहारा भनिएका वर्गलाई नामका मात्र सर्वहारा हुने गरी आर्थिक व्यवस्थामा समावेश गराउँदै लगेको छ । सामन्तवादी भेदभावका घिन लाग्दा कुराहरूबाट उनीहरूलाई मुक्त हुन सक्ने वातावरण बनाउँदै गएको छ । क्षमता र योग्यता भएका सर्वहाराहरूलाई विलासी बन्न सक्ने किसिमका अवसरहरू पनि प्रदान गरेको छ ताकि उनीहरू सङ्गठित हुनेतिर भन्दा आफूलाई विलासी र व्यक्तिवादी बनाउनेतिर घोत्लियून् र वर्गीय सङ्घर्षतिर लाग्न नसकून् । उसले मानिसहरूमा व्यक्तिवादका कहिल्यै समाप्त नहुने किसिमका रुचिहरूको निर्माणमा जोड दिँदै यस्तो गरिरहेको छ । यसका लागि सञ्चारको व्यापक सञ्जाल बनाएको छ, साइबर संस्कृतिमा कब्जा जमाएको छ । मानिसहरूमा पुँजीवादी आदतहरूको स्थायीकरण गरिरहेको छ । आज ती देशका सर्वहारा र किसानहरू नेपाल जस्ता गरिब देशको गाउँका सामन्तभन्दा धनी र सुखी बन्दै गएका छन् । उल्टै आज गरिब मुलुकका सामन्तहरू ती देशमा जान र त्यहाँका सर्वहारा वा नोकर बन्न लालायित छन् । नेपालकै कुरा गर्ने हो भने पनि आजको नेपालका सर्वहारा वर्ग माक्र्स कालीन सर्वहारा वर्गभन्दा धेरै विकसित, धेरै सचेत, धेरै पठित र धेरै भिन्न छ । आज नेपालको सर्वहारा वर्ग सङ्गठन गर्न नपाउने स्थितिमा छैन, मालिकको अगाडि बोल्नै नसक्ने अवस्थामा छैन, आफ्ना विचारलाई स्वतन्त्र रूपमा प्रचार गर्न नपाउने अवस्थामा छैन, आफ्नो अवस्था र अधिकारका बारेमा अरूलाई बताउने, प्रशिक्षण दिने र सहमत बनाउने कुरामा ऊ स्वतन्त्र छ । सक्नु र नसक्नु उसको क्षमतामा भर पर्ने कुरा हो तर आज नेपालको सर्वहारा वर्ग वा मजदुर वर्ग मालिकसँग डराउँदैन, बरु केही हदसम्म मालिक वर्ग नै ऊसँग डराउँछ । यी परिवर्तित अवस्था हुन्; बदलिएका कुरा हुन् । आफूलाई माक्र्सवादी विचारक भन्नेहरूका लागि यी यथार्थहरू सामान्य नहुनुपर्ने हो । यो नयाँ कोणबाट गम्भीर बनेर विचार गर्ने विषय हो । भोलिका दिनहरूमा गरिब मुलुकहरूमा पनि पुँजीवादी विकास हुँदै जाने छ र यस क्रममा पुँजीवादले समाजवादका थप गुणहरू आफूमा समावेश गर्दै आफ्नो मूल स्वरूपलाई झन् झन् सबल पार्दै जाने रणनीति लिने छ भने यी मुलुकका सर्वहारा वर्गको स्थिति पनि विकसित पुँजीवादी मुलुकका सर्वहाराको जस्तै बनाउने बाटोमा हिँड्ने छ । यस्तो स्थितिमा माक्र्स कालीन सर्वहारा वर्गीय दृष्टिकोणलाई त्यही कालमा मात्र राखेर समाजवाद र साम्यवादसम्मको बाटो पहिल्याउनु कसरी सम्भव छ ? इतिहासबाट सिक्ने हो; इतिहासले वर्तमानको समस्या समाधान गर्न सक्दैन । वर्तमानको समस्याको समाधान इतिहासले गर्ला भन्ने सोच्नु अवैज्ञानिक र अवस्तुवादी चिन्तन हो । वर्तमानको समस्याको समाधान वर्तमानले नै खोज्ने हो । यसका लागि बदलिँदो संसार, परिवर्तित पुँजीवाद र त्यसका नवीनतम प्रवृत्तिहरूको गम्भीर अध्ययन गरी माक्र्सवादको वर्तमान स्वरूप खोज्नुको विकल्प छैन । माक्र्सवादले सङ्केत गरेका गतिशीलताको मर्म नबुझेर त्यसलाई माक्र्स कालीन रूढता र स्थिरतामा राखी हेरेर मात्र आजका समस्याको समाधान खोज्दा झन् झन् कमजोर भइने र झन् झन् पछि परिने निश्चित छ । यस भयावह समस्यातिर हाम्रो नेतृत्वको ध्यान जान सकेको छैन । नेतृत्व तहमा रहेका माक्र्सवादी विचारकहरू आज पनि उही रूढताको तहमा र माक्र्स कालीन माक्र्सवादी चिन्तनका तहमा वर्तमानको पुँजीवादलाई हेर्ने स्थिरतामुखी चिन्तन गरिरहेका देखिन्छन् । यही स्थितिमा माक्र्सवाद र समाजवादले सिद्धान्त मात्र प्राप्त गर्ने छ; प्रयोगका तहमा समाजवादी विकास प्राप्त गर्नु सम्भव नै छैन । त्यसैले प्रगतिवादी चिन्तक र सर्जक सबैका सामु आजको पुँजीवादको मूल्याङ्कन र आजको वर्ग विश्लेषणमा रूढता र स्थिरताबाट अगाडि बढेर माक्र्सवादलाई आजको सन्दर्भमा विकसित गरेर हेर्ने र हिँडाउने चुनौती सबैभन्दा ठुलो चुनौती हो ।”

उपर्युक्त किसिमको बुझाइमा सत्य कति छ ? भ्रम कति छ ? यस्तो सोच उत्पन्न हुनुका कारण के के हुन् ? यो चिन्तन भ्रम नै हो भने भ्रमलाई चिर्न के गनुपर्छ ? कसरी चिर्न सकिन्छ ? आदि कुराको जवाफ आवश्यक छ किनभने जनता सङ्घर्ष र बलिदानका लागि तयार हुने मुख्य आधार भनेको ‘लक्ष्यित कुरा सही हो’ भन्ने विश्वास र त्यसप्रतिको श्रद्धा नै हो । जबसम्म उक्त धारणाको चित्तबुझ्दो उत्तर आम जनताले प्राप्त गर्दैनन् तबसम्म आजको पुँजीवादलाई पराजित गर्न कठिन हुन्छ । त्यसैले यो पक्ष पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ ।


२०. अन्य

उपर्युक्तबाहेक अत्याग्रह र पूर्वाग्रहका कारण देखिने समस्यागत चुनौती पनि रहेका छन् । प्रतिध्रुवीय साहित्यका ग्राह्य पक्षहरूबाट शिक्षा लिने गुणग्राही सामथ्र्यको अभाव पनि छँदै छ । प्राविधिक लेखनले निम्त्याएको नीरसता पनि छँदै छ । कथा पढ्न सुरु गरेपछि सुरुमै त्यसको अन्त्य थाहा हुने, शोषक पात्र छ जसलाई शोषित वर्गको पात्रले समाप्त गर्ने छ भन्ने किसिमको अनुमान सुरुमै हुने गरी गरिने प्राविधिक लेखन अझै पनि चलिरहेकै छ । यसले कौतूहलको सौन्दर्य समाप्त पार्छ, भावकमा अरुचि पैदा गर्छ र रचनामा हुने द्वन्द्वलाई कमजोर पार्छ भने अभिव्यक्तिलाई रुखो र नीरस बनाउँछ । यी समस्याबाट जोगिनु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको चुनौती हो ।

निष्कर्ष

आफूलाई प्रगतिशील/प्रगतिवादी भन्न रुचाउने स्रष्टाहरू हजारौँ भइसके र उनीहरूका रचनाहरूको सङ्ख्या लाखौँमा पुगिसक्यो तर यति धेरै रचनाहरू हुँदा पनि यी रचनाहरूको प्रभावस्वरूप किन लाखौँ मानिस सांस्कृतिक रूपले परिवर्तन हुन सकेनन् ? यो गम्भीर प्रश्न हो । प्रगतिवादी नेपाली साहित्य स्तरीय, शक्तिशाली र सम्प्रेषणीय हुन नसकेर यस्तो भएको हो कि ? पढ्ने सामग्रीको छनोट र पठनका बिच समन्वय हुन नसकेर यस्तो भएको हो कि ? प्रगतिवादी साहित्यको प्रचारप्रसार राम्ररी हुन नसकेर हो कि ? स्कुलिङको अभाव भएर हो कि ? वैचारिक स्पष्टताको अभावमा रचनामा विरोधाभासहरू उत्पन्न भएर हो कि ? सुन्ने संस्कृति कम र सुनाउने संस्कृति बढी भएर हो कि ? विमर्श गर्ने प्रवृत्ति कम र हतारमा टिप्पणी गर्ने प्रवृत्ति बढी भएर हो कि ? तर्क बढी तर तथ्य कम भएर हो कि ? पार्टी विभाजन र पार्टीभित्र पनि गुट विभाजन अनि गुटअन्तर्गत पनि व्यक्तिवाद हावी भएर हो कि ? उत्पादन र उपभोगका साधनमाथि अधिकार नभएर हो कि ? दृढ सङ्कल्प र दीर्घ साधना नपुगेर हो कि ? यस्ता के के कारण छन् जसले गर्दा प्रगतिवादी नेपाली साहित्यले जनता र व्यापक पाठक समूहमा गम्भीर प्रभाव पार्न सकिरहेको छैन ? उनीहरूको चेतनालाई हल्लाउन सकेको छैन ? उनीहरूमा सांस्कृतिक रूपान्तरणका लागि उत्प्रेरणा जगाउन सकेको छैन ? प्रगतिवादी नेपाली साहित्यका लागि यी र यस्ता अन्य अनेक गम्भीर प्रश्नहरू छन् र यिनै प्रश्नहरूभित्र यसका चुनौती अन्तर्निहित देखिन्छन् । यी प्रश्नहरूका उत्तर सैद्धान्तिक रूपमा पहिल्याई, प्रायोगिक/व्यावहारिक रूपमा यिनको सही उत्तर खोजेर, प्राप्त भएको उत्तरले गरेको दिशा निर्देशअनुकूल सङ्गठित रूपमा प्रगतिवादी रचनाधर्म सम्पन्न गर्न नसक्दासम्म यी चुनौतीहरू बाँकी नै रहने निश्चित छ ।

(प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा ‘प्रगतिशील साहित्य लेखनका चुनौती’ विषयमा ०७२ असोज ५ गते सम्पन्न विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रको मुख्य तथा सम्पादित अंश । फोटो स्रोत : प्रलेसको ब्लग । शीर्षक मूल्याङ्कन अनलाइन – सम्पादक ।)

http://emulyankan.com बाट साभार 

प्रगतिवादी साहित्य र यसको विशेषता -निनु चापागाईं

प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका बीच के समानता छ र के भिन्नता छ ?, आमूल परिवर्तनकारी राजनीतिक पार्टीमा आबद्ध नभएको रचनाकार प्रगतिवादी हुन सक्छ कि सक्दैन ?, शब्दमा प्रगतिवादलाई समर्थन गरेर हि“डिरहेको साहित्यकार ईशपूजक छ भने उसलाई कसरी हेर्ने ? वा आजको प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ ? वरिष्ठ एवं कनिष्ठ र खासगरी नवोदित प्रतिभाबाट उठाइएका यस्तै किसिमका प्रश्नहरूको सरल र सहज उत्तर नभए पनि यो लेख यसरी उठेका कतिपय प्रश्नहरूको उत्तरस“ग भने अवश्य नै गा“सिएको छ ।
आजको अवस्थामा प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ भनी कसैले प्रश्न गरेको खण्डमा एकदमै छोटोमा र अमूर्त किसिमले जवाफ दिन सकिन्छ– प्रगतिशील साहित्यले आजको नेपालको गतिशील यथार्थलाई कलात्मक उच्चतासहित सक्रिय रूपबाट प्रतिबिम्बन गर्नुपर्दछ । तर प्रगति र यथास्थितिका बीचको द्वन्द, प्रगतिशीलता र प्रगतिवादका बीचको भिन्नता, यथार्थवाद र समाजवादी यथार्थवाद (प्रगतिवाद) का बीच रहेको समानता र भिन्नता, समाजवादी यथार्थवादका विशेषताहरू र आजको नेपालको अवस्था, खासगरी आर्थिक, राजनीतिक अवस्थाका बारेमा सही दृष्टिकोण र समझदारी नबनाई गहन र विस्तृत जवाफ भने पाउन सकिन्न ।
प्रगतिशील साहित्य जीवनजगत्को विकासशीलतामा आस्था राख्ने रचनादृष्टिको सिद्धान्त हो । यथास्थितिले गतिशीलताको विरोध गर्दछ र प्रगतिको चाहना यथास्थितिको विरुद्ध क्रियाशील नभई प्राप्त हुनै सक्तैन । यथास्थिति र प्रगति यसरी भिन्न स्थितिका द्योतक हुन् । त्यसैले प्रगतिशील साहित्य त्यस्तो साहित्य हो– जसले नेपाली जनताले वर्तमान अवस्थामा भोग्नुपरेको दुर्दशा र आजको यथास्थितिको विरुद्धमा आफूलाई गतिशील बनाउ“छ । यस्तो साहित्यले नेपाली जनताको कसैको थिचोमिचो र हैकम (विदेशी वा स्वदेशी) बाट मुक्त भएर स्वाभिमानस“ग बा“च्न चाहने, वर्ग, जाति, लिड्ड, धर्म जस्ता असमानताबाट मुक्त हुने र काम नगर्नेले खान पाउ“दैन भन्ने विचारलाई चरितार्थ गर्ने आवश्यकता र अकांक्षालाई व्यक्त गर्दछ र तिनको शोषण, उत्पीडनविरोधी आवाजलाई मूर्तता प्रदान गर्दछ । त्यसैले सामन्तवादको पूर्ण उन्मूलन, अधिकतम रूपबाट श्रमजीवी जनताका पक्षमा राजनीतिक स्वतन्त्रताको प्राप्ति, विदेशी निर्भरता एवं नियन्त्रणमुक्त, स्वनिर्भर अर्थतन्त्रको निर्माण, विदेशी थिचोमिचोविरोधी देशभक्तिपूर्ण भावना र आम श्रमजीवी जनताको महत्तालाई अस्वीकार गर्ने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । प्रगतिशील साहित्य वास्तवमा, यथास्थितिको विपक्षमा, प्रतिगमनको विरुद्धमा र जनहितकारी परिवर्तनको पक्षमा यथार्थलाई प्रतिबिम्बन गर्ने साहित्य हो । प्रगतिशील साहित्य कुनै निश्चित दर्शनमा प्रतिबद्ध नहुने कारणले पू“जी र श्रमका बीचको अन्तर्विरोधको समाधानमा यसले प्रस्तुत गरेका सुझावहरू सही र वस्तुगत नहुन पनि सक्दछन्, तर यसले जनतामा विकसित हु“दो परिवर्तनकारी आकांक्षालाई गहन वस्तुगतता, सत्यनिष्ठता र इमानदारीसाथ प्रस्तुत गर्दछ र जनताले चाहेको समाजपरिवर्तनको आन्दोलनलाई सहयोग पु¥याउ“छ । सबैभन्दा महŒवपूर्ण कुरो प्रगतिशील साहित्य मूलतः यथार्थवादी हुन्छ ।
वस्तुजगत् र त्यसका विविध रूपहरू मात्र सत्य हुन् र तिनको आनो ठोस वस्तुगत अस्तित्व हुन्छ, व्यक्तिका निजी इच्छा, अनिच्छाबाट ती स्वतन्त्र हुन्छन् भन्ने चिन्तनका आधारमा यथार्थवादी रचनाविधि र दृष्टिको विकास भएको छ । यसले सम्पूर्ण विश्व, मानवजीवन, मान्छेका विचार तथा अनुभूतिलाई आनो विषयवस्तु बनाउने गरेको छ र यो नै यसको सिद्धान्त पनि हो । वस्तुगत यथार्थप्रति इमानदारी, यथार्थको अनुसन्धान एवं अन्वेषण, यथार्थको सत्यपरक चित्रण र सत्यप्रति अविचल निष्ठा यथार्थवादको मुख्य विशेषता हो । यथार्थवाद यथार्थको जस्ताको तस्तै बाह्य विवरण नभएर वर्णन गरिएका घटनाहरूको आन्तरिक सारको प्रस्तुति हो । यसको विशेषता नै यथार्थको महŒवपूर्ण पक्षहरूमा गहिरोस“ग अन्तप्र्रवेश गर्नु, यथार्थलाई तिनको समग्रतामा वा पूर्णतामा व्यक्त गर्नु र ‘विशिष्ट परिस्थितिमा विशिष्ट पात्रहरू’लाई सही रूपमा उभ्याउनु हो । यसले व्यक्तिगत रुचि, अरुचि, भ्रम र विभ्रमभन्दा माथि उठेर यथार्थको गहन, सत्यपरक चित्रण गर्न साहित्यकारस“ग माग गर्दछ । यथार्थवादी साहित्यको पहिलो शर्त रचनाको विषय यथार्थ वा जीवन जस्तो छ, त्यस्तै हुनु हो भने दोस्रो शर्तचाहि“ यथार्थवादी साहित्यकार आनो मस्तिष्कलाई कत्ति पनि उपयोग नगर्ने फोटोग्राफर र प्रकृतिवादी नहुनु हो । प्रकृतिवादीका विपरीत यथार्थवादी साहित्यकारले यथार्थलाई संसाधन गर्दछ, अनावश्यक विवरणहरू का“टछा“ट गर्दछ र प्रस्तुत यथार्थका खास विशेषताहरू छर्लड्ड हुनेगरी प्रस्तुत गर्दछ ।
यथार्थवादको सार भनेको यसले प्रस्तुत गर्ने समाजको विश्लेषण हो । यस्तो विश्लेषणभित्र समाजमा विद्यमान मानवहरूको जीवन, मानिसहरूको बीचको सामाजिक सम्बन्ध, व्यक्ति र समाजका बीचको सम्बन्ध र समाजको आनै संरचनाको अध्ययन, चित्रण र विश्लेषण समावेश भएको हुन्छ ।
यथार्थवादको सारका रूपमा मानिएको सामाजिक विश्लेषणले साहित्यकारलाई जीवन या यथार्थका सारभूत विशेषता एवं तिनका नियमहरूलाई जान्न र त्यस अनुरूप चित्रण गर्न उत्प्रेरित गर्दछ । किनभने यसले यथार्थको सोझो फोटोकपी (प्रतिलिपि)लाई एकातिर मान्यता दिंदैन भने अर्कातिर अनियन्त्रित संवेगहरूको क्रीडाभूमिका रूपमा यथार्थको आत्मगत प्रस्तुतीकरणलाई पनि अस्वीकार गर्दछ । यथार्थवादले यसका विपरीत मानिस र सामाजिक वातावरणका वास्तविक अन्तर्विरोधलाई एकै ठाउ“मा राखेर सामाजिक सम्बन्धहरूको द्वन्दात्मकतालाई बुझ्न र चित्रण गर्न, तिनलाई आनो प्रस्थानविन्दु बनाउ“छ । लेखकले आत्मगत रूपबाट स्वेच्छाचारी तरीकाले घटनाहरूको अर्थ र सारलाई प्रस्तुत गर्न खोज्यो भने जीवन तथा जनता जस्ता छन्, त्यही रूपमा तिनको सामान्यीकरण गर्न सक्तैन ।
जीवन र जगत् अनुरूपको साहित्य र सामान्यीकरणको माध्यमबाट त्यसको प्रस्तुति यथार्थवादको निजी विशेषता हो । यस्तो सामान्यीकरण गर्दा विशिष्ट वा खास खास घटनाको माध्यमबाट विभिन्न सामाजिक शक्तिहरूको गति र प्रतिगतिको सामान्य स्वरूपलाई प्रस्तुत गरिन्छ । प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति यसै अन्तर्गत पर्दछ । लेखकले व्यक्ति पात्रमार्फत् समूह एवं वर्गका पात्रहरूको चित्रण गर्दछ र एउटा खास परिस्थितिको चित्रणबाट उसले त्यस्ता थुप्रै परिस्थितिहरूप्रति संकेत गर्दछ । त्यसले व्यक्ति र प्रतिनिधि दुवैको प्रतिनिधित्व गर्दछ । यसलाई प्रारूपीकरण ९त्थउषष्अबतष्यल० पनि भन्ने गरिन्छ ।
सामाजिक संघटनामा विद्यमान कार्यकारण सम्बन्धको खोजी पनि प्रारूपीकरणले गर्दछ । मान्छेको जीवन र सामाजिक जीवनद्वारा बन्ने कुनै कृतिको विषयवस्तु, पात्रको आन्तरिक संसार र चरित्रलाई यथार्थवादले चरित्रको व्यक्तिगत नियतिस“ग कार्यकारण सम्बन्धमा रहेका विभिन्न प्रारूपित परिस्थितिको उपज ठान्दछ । त्यसैले प्रारूपित चरित्र एक किसिमको सामाजिक शक्तिबाट बनेको हुन्छ । यस्तो प्रारूपित चरित्रले आफू जुन वातावरणको उत्पादन हो, त्यस वातावरणका मुख्य निर्णायक विशेषताहरूलाई समायोजन र संयोजन गरेको हुन्छ । यी विशेषताहरू स्वयं प्रारूपित चरित्र र उसको नियतिका माध्यमबाट प्रकट हुन्छन् ।
यथार्थवादी साहित्यको कार्यकारणभाव घटनाहरूको यान्त्रिक अनुक्रम, हरेक कडी आउ“दो कडीस“ग गा“सिएको सिक्रीको रूपमा प्रकट हु“दैन । यस्तो दृष्टिकोण त प्रकृतवादको मात्रै हुन्छ । प्रकृतवादले यथार्थको फोटोग्राफिक प्रतिलिपि उतार्दछ, मुख्य तथा सारभूत विशेषताहरूमा भेद नगरी तिनलाई एकै ठाउ“ मिसमास पार्दछ र प्रायः सामान्य अस्पष्ट वा ढाकछोप हुनेगरी विशिष्टलाई प्राथमिकता दिएर प्रस्तुत गर्दछ र प्रत्यक्षतया बाहिर स्पष्ट नदेखिने गरी सतहमुनि रहेका र यसको गतिलाई निर्धारित गर्ने जीवनप्रक्रियाहरूलाई प्रकाशमा ल्याउन असफल हुन्छ । यथार्थवादले उक्त सबै विषयमा विपरीत दृष्टि अवलम्बन गर्दछ । यथार्थवादमा कार्यकारणभाव सम्पूर्ण कृति र यसका अंशहरू, विवरणहरूको असांयोगिक प्रकृति, कथानकको सुसंगत विकास र पात्रहरूका बीचको सुसंगत सम्बन्ध र मजबुत जगको संरचनामा मात्र व्यक्त हु“दैन, सबैभन्दा बढी ऐतिहासिक दृष्टिकोणमा व्यक्त हुन्छ । ऐतिहासिक दृष्टिकोणभित्र इतिहासमा द्वन्दरत वर्गस्वार्थका बीचको संघर्ष, उदीयमान तŒवको विजय एवं मरणशील तŒवको पराजय र इतिहासनिर्माताका रूपमा जनताको समर्थनजस्ता विषय पर्दछन् ।
यथार्थवादको अर्को महŒवपूर्ण विशेषता लेखकका विचारहरू अमूर्त धारणामा व्यक्त नभएर मूर्त चित्र वा बिम्बमा प्रकट हुनु हो ।
स्वभावैले साहित्य प्रकृति र मानवजीवनका मूल पक्षहरूलाई चित्रण गर्दछ तापनि यथार्थवाद यथार्थको प्रतिलिपि मात्र होइन । साहित्यकारले आनो दृष्टिकोण र सिर्जनात्मक कल्पनाको सहयोगले यथार्थलाई पुनरुत्पादन गरेर आनो रचनामा प्रस्तुत गर्दछ । त्यसैले यसमा वस्तुगत यथार्थका साथै साहित्यकारको निजी दृष्टिकोण, उद्देश्य र व्यक्तित्व समेत प्रकट हुन्छ । लेखक कहिल्यै पनि आनो समयको तटस्थ वृत्तआलेखक हुन सक्दैन । प्रत्येक प्रतिभासम्पन्न लेखकले आनो कृतिमा यथार्थको चित्रण गर्दा कुनै न कुनै सन्देश व्यक्त गरेको हुन्छ र आनो विश्वदृष्टिकोणलाई समेत प्रतिबिम्बित गरेको हुन्छ । उसले आफू क्रियाशील रहेको युगका आफूलाई सही लागेका विचारहरूको समर्थन र बेठीक लागेका विचार एवं पक्षको विरोध गरेकै हुन्छ । यद्यपि लेखकको इतिहाससम्बन्धी आत्मगत धारणा, यसको वस्तुगत सारतŒवस“ग सधैं अनुकूल रहने स्थिति नहुन पनि सक्दछ ।
त्यसो भएर पनि यथार्थवादी लेखकले गतिशील यथार्थको विकासको निरन्तर अनुसन्धान तथा सामाजिक सम्बन्धहरूको व्याख्या–विश्लेषण गरेर समकालीन व्यक्तिगत एवं सामाजिक जीवनको आधिकारिक चित्र प्रस्तुत गरेको हुन्छ । पात्रहरूको मानसिक संसार, उनीहरूको विचार एवं व्यवहारविधिलाई प्रभावित पार्ने युगका वास्तविक संघर्षहरूलाई चित्रण गर्न र मानवव्यक्तित्वमाथि अतिविध्वंशक प्रभाव पार्ने सामाजिक खराबीहरूको स्रोत फेला पार्न यथार्थवादी लेखकहरू सफल रहेका छन् । वस्तुगत यथार्थको मार्मिक चित्रण, सत्यप्रति अविचल निष्ठा, व्यवस्थाजन्य विकृतिहरूको निर्मम आलोचना र उद्घाटन, चित्रणको समग्रता र समाजको संश्लेषणात्मक विश्लेषण, प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति, यथार्थको उपस्थापनको माध्यमद्वारा रचनाकारको विचारको अभिव्यंजना यथार्थवादका उपलब्धिहरू हुन् ।
यहा“निर के कुरा ख्याल राख्नु आवश्यक छ भने उन्नाइसौं शताब्दीको शुरुमा प्रगतिको सामाजिक आधारको प्रश्न कला, साहित्य र समाजविज्ञानको एउटा प्रमुख विषय बन्न पुगेको थियो । जीवनका व्यावहारिक पक्षहरूको अनुसन्धान गर्न र वस्तुगत गतिशीलतालाई पक्रन असफल परिष्कारवाद (शास्त्रीयतावाद) समयको भावनाभन्दा पछि परिरहेको थियो र यसले उक्त प्रश्नको जवाफ दिन सकिरहेको थिएन । यसले क्रमशः साहित्यकलाको विकासमा भा“जो हालिरहेको थियो र यो प्रतिक्रियाको वैचारिक हतियार बनिरहेको थियो । जस्तोसुकै कुरा स्वीकार गर्नु परे पनि परिवर्तनको पक्ष भने पटक्कै नलिने, सामन्ती व्यवस्थाका दृढ पक्षधरहरूले यसलाई आनो झण्डा बनाएका थिए । यही कारण स्वच्छन्दतावाद र यथार्थवादले यसलाई आनो भीषण आक्रमणको तारो बनाए । सामन्तवादको आर्थिक–वैचारिक संरचनालाई ध्वस्त बनाउने फ्रान्सको क्रान्तिको अवधिमा त्यही उद्देश्यसहित शुरुमा पू“जीपतिवर्गको स्वार्थ लिएर यथार्थवादको पुनरुत्थान भएको थियो ।
स्वच्छन्दतावाद जन्मिएको एउटै ऐतिहासिक भूमिमा यथार्थवादको पुनरुत्थान भएको थियो र ऐतिहासिक प्रगतिको दिशा र यसको वास्तविक सार प्रस्तुत गर्नुपर्ने उस्तै वैचारिक कार्यभारको सामना दुवैले गर्नुपरेको थियो । यथार्थवाद र स्वच्छन्दतावाद दुवै क्रान्तिपछिको पू“जीवादी यथार्थ व्यक्तिका लागि प्रतिकूल छ भन्ने निष्कर्षमा पुगेका थिए । तर क्रान्तिकारी स्वच्छन्दतावादीहरूचाहि“ साधारणतया पू“जीवादको सामाजिक आलोचनामा मात्र सीमित रहे भने यथार्थवादीहरूले चाहि“ यसमा सामाजिक विश्लेषण पनि थपे । यसको चरित्र आलोचनात्मक र मानिस र उसको रहेको वातावरण, मनुष्य र समाजका बीचको सम्बन्धको चित्रणविधि भने संश्लेषणात्मक थियो । यसरी यसले “स्वतन्त्र” पू“जीवादतिर विकसित हु“दो क्रान्तिपछिको समाजमा अन्तर्विरोधको सामाजिक प्रवृत्तिलाई अघि ल्यायो । क्रान्तिकारी स्वच्छन्दतावादले प्रायः विशिष्ट महŒव राख्ने जीवनको एउटा पक्षलाई वा मानवीय चेतनालाई सामान्य बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्दछ र कार्यकारण सम्बन्धमाथि चासो राख्दैन भने यथार्थवादले जीवनलाई समग्रतामा प्रस्तुत गर्दछ, जीवनका विविध पक्षलाई एक–अर्कामा निर्भर, कार्यकारण भावहरूद्वारा निर्धारित सम्बन्धसूत्रहरूको रूपमा समग्रतामा चित्रण गर्दछ । हामी यसैलाई आलोचनात्मक यथार्थवाद भन्ने गर्दछौं । यही यथार्थवादी साहित्यका विशेषता र लक्षणहरू नै प्रगतिशील साहित्यका विशेषता र लक्षणहरू हुन् ।
प्रगतिवाद, आलोचनात्मक यथार्थवादभन्दा उच्चस्तरको यथार्थवाद हो । प्रखर यथार्थबोध, वस्तुगत यथार्थको इमानदारीपूर्ण चित्रण, दृढ सत्यनिष्ठता, उत्पीडित जनसामान्यप्रति अतिशय संवेदनशीलता, बाहिरी र भित्री पक्षसहित सम्पूर्ण युगको चित्रण, गहिरो सामाजिक रुचि, सामन्ती तथा पू“जीवादी समाजव्यवस्थाको अमानवीयता र नैतिक पक्षको निर्मम आलोचनाजस्ता उपलब्धिहरूबाट चिनिए पनि आलोचनात्मक यथार्थवादका आना सीमाहरू छन् । समाजविकासका नियमहरूका बारेमा वैज्ञानिक एवं सही ज्ञानको अभावका कारण आलोचनात्मक यथार्थवादले वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितमा समाजको विभाजनलाई चित्रण गरेर पनि पू“जी र श्रमका बीचको द्वन्दलाई कसरी समाधान गर्ने वा त्यसबाट कसरी मुक्त हुने सार्थक र वैज्ञानिक समाधान दिन सकेन । पू“जीवादी समाजको आक्रमणकारी प्रकृति र शोषक चरित्रको आधार के हो र यसको समाप्ति कसरी हुन्छ । यसबारेमा रचनात्मक सुझाव प्रस्तुत गर्न सकेन । यस विषयमा आलोचनात्मक यथार्थवादले धेरैजसो खास दिशाको संकेत नै गर्दैन भने संकेत गरेको खण्डमा पनि त्यो वस्तुसंगत हु“दैन र सम्झौतावादी, विज्ञानविरोधी र यथार्थविरोधी हुनपुग्छ ।
उन्नाइसनौं शताब्दीको मध्यतिर यूरोपमा पू“जीवादी विकासको चर्को र स्पष्ट अन्तर्विरोध देखापरेपछि पू“जीपति वर्गले सबैतिर सर्वहारा वर्गलाई ढाड भा“चिने कठोर परिश्रम र भयानक कष्टको जीवन बा“च्न कारखाना प्रणालीको हत्कडी लगायो । शोषणको निर्मम र कपटी क्रूरताले वर्गसंघर्षलाई तीब्र बनायो र सन् १९४८ को क्रान्तिकारी परिस्थितिको विकास ग¥यो । यसले ऐतिहासिक क्रियाकलापमा एउटा नया“ सामाजिक शक्ति–सर्वहारा वर्गको नेतृत्वमा जनसमुदाय–लाई अघि ल्यायो । यसले श्रमजीवी वर्गको क्रान्तिकारी चेतनाको निर्माणका निम्ति मात्र होइन, मजदुर वर्गको दार्शनिक तथा राजनीतिक ज्ञानको निर्माणको परिस्थिति पनि सृजना ग¥यो । पू“जीवादी विचारकहरू वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितका बीच समाजको विभाजन ल्याउने पू“जीवादी उत्पादनलाई पूर्णतया स्वाभाविक, न्यायपूर्ण र एकमात्र संभावित उत्पादनप्रणाली मान्दथे । तर अब वैज्ञानिक समाजवादले पू“जीवादी उत्पादनपद्धतिका ठाउ“मा सामूहिकतावादको सिद्धान्तमा आधारित सामाजिक सम्बन्धहरूका नया“ रूपहरू निर्माण गर्ने संभावनालाई पुष्टि गर्न थाल्यो । यसले सामाजिक असमानता, धनी–गरिब र शोषक–शोषितका बीच समाजको विभाजनको कारण निजी सम्पत्ति हो र त्यसको उन्मूलन भएको खण्डमा मानवद्वारा मानवमाथि हुने शोषणका सम्पूर्ण रूपहरू समाप्त हुनेछन् भन्ने निष्कर्ष निकाल्यो र यही चिन्तनको आधारमा समाजवादी यथार्थवादको उदय भयो । विश्वमा स्थापित समाजवादी राज्यसत्ताहरूले त्यसलाई प्रमाणित गरेर पनि देखाए ।
समाजवादी यथार्थवाद भनेको समाजवादी आदर्श (साम्यवाद)लाई आत्मसात् गर्दै यथार्थलाई क्रान्तिकारी विकासका क्रममा सही तरीकाले प्रतिबिम्बित गर्ने पद्धति र दृष्टि पनि हो । जीवनसत्यको निरन्तर अनुसरण, क्रान्तिकारी विकासको क्रममा यथार्थको प्रतिबिम्बन, समाजवाद एवं साम्यवादको भावना अनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिने कार्यभार, जनप्रतिबद्धता, पार्टीप्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धता समाजवादी यथार्थवादका आधारभूत विषयहरू हुन् । आलोचनात्मक यथार्थवादको आवेगपूर्ण शक्ति समकालीन समाजको आलोचना, निषेध र सामाजिक अन्यायको तिरस्कारमा व्यक्त हुन्छ भने समाजवादी यथार्थवादको आवेगपूर्ण शक्ति चाहि“ जीवनप्रतिको आशावादी सकारात्मक अनुगमनमा व्यक्त हुन्छ । यसले सबै किसिमका सामाजिक असमानता र अन्यायको विरोध गर्दछ र सामाजिक प्रगतिको संवाहकका रूपमा सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायको नया“ समाजको निर्माणको प्रयत्न र संघर्षको कलात्मक जीवनी प्रस्तुत गर्दछ । मानिस एवं समाज, जीवन तथा परिस्थितिको संश्लेषणात्मक विश्लेषण, प्रस्तुत गरिएको यथार्थको कार्यकरणसम्बन्धको खोजी, जनसमुदायमा विकसित भैरहेको आत्मचेतनाको चित्रण, निजी व्यक्तित्वको प्रतिष्ठास“गै आफू संलग्न सामाजिक वर्गको सहजवृत्ति र दृष्टिकोणको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्रहरूको सिर्जना, संघर्षको अग्रपंक्तिमा रही विकसित हु“दो सक्रिय नायकको सृष्टि, वर्गसंघर्षको अस्तित्व र व्यक्तिमाथि त्यसले पार्ने प्रभाव देखाउनमा सीमित आलोचनात्मक यथार्थवादको सीमालाई पार गरी वर्गसंघर्षको स्वभाविक परिणामको प्रस्तुति र समाज सम्पूर्णमा त्यसले पारेको प्रभावको चित्रण, पू“जीवाद, पू“जीवादी समाज, त्यसको नैतिक सिद्धान्त र त्यसले उत्पन्न गरेको मानव अपकर्ष र मानवको पाशवीकरणको गहन चित्रणका साथै पू“जीवादी विचार, नैतिकता र संस्कृतिको सार्वभौम, सर्वव्यापी आलोचना र समाजवाद र समाजवादी व्यवस्थाको निर्माणप्रति आवेगपूर्ण समर्थन समाजवादी यथार्थवादका विशेषता हुन् ।
कुनै आमूल परिवर्तनकारी राजनीतिक संगठनमा रचनाकार संलग्न होस् वा नरहेको होस्, उसले रचना गरेको साहित्यले यी विशेषताहरू अ“गाल्दछ भने उक्त रचनाकार निर्विवाद रूपबाट प्रगतिवादी साहित्यकार प्रमाणित हुन्छ । आना रचनाका माध्यमबाट यी विशेषताहरूलाई व्यक्त गर्न असक्षम साहित्यकार आमूूल परिवर्तनकारी राजनीतिक संगठनमा आबद्ध भएकै खण्डमा पनि प्रगतिवादी हुन सक्दैन । कुनै पनि रचनाकारको मूल्याड्ढनको आधार उसको रचना हुन्छ– रचनाकार स्वयं मात्र होइन ।
प्रतिबद्धता र स्वतन्त्रताका प्रसंगमा स्पष्ट हुनुपर्ने विषय के हो भने प्रगतिवादले रचनकारस“ग विश्वदृष्टिकोण तथा विचारधारामा मात्र प्रतिबद्धताको माग गर्दैन, जीवनमा सक्रिय संलग्नताको माग समेत गर्दछ । यसका निम्ति र प्रगतिवादका विशेषताहरूको परिपूर्तिका निम्ति पार्टी प्रतिबद्धताले थप सहयोग पु¥याउ“छ, हानि होइन । कुनै इमानदार प्रगतिवादी लेखक पार्टी प्रतिबद्ध छैन र विशेष परिस्थितिवश स्वतन्त्र छ भने पनि उसले विचारधारात्मक प्रतिबद्धता, जनप्रतिबद्धता र पार्टीप्रतिबद्धता जस्ता प्रगतिवादका विशेषताका विरोधमा कलम चलाउन सक्दैन ।
आमूल परिवर्तनको पक्षमा रहने कुनै पनि साहित्यकारले आमूल परिवर्तनको प्रक्रियालाई गति दिने, त्यसलाई संगठित गर्ने र निर्देशित गर्ने राजनीतिक पार्टीको विरोध गर्दछ र त्यसको विरोधका क्रममा राजनीतिप्रति नै वितृष्णा जगाउने काम गर्दछ भने त्यस्तो साहित्यकारका बारेमा भने सचेत रहनुपर्दछ । शब्द र कार्यकाबीचको एकता प्रगतिवादको विशेषता हो । कसैले एकथोक भन्छ र कामचाहि“ त्यसको ठीक विपरीत गर्दछ भने हामीले मूल्याड्ढनको आधार कामलाई बनाउनु पर्दछ, भनाइलाई होइन । व्यवहार मूल्याड्ढनको कसी हो, कसैको पनि मूल्याड्ढन उसका व्यावहारिक क्रियाकलापलाई अलग्ग्याएर हु“दैन ।
सारांशमा यही नै प्रगतिवाद हो । प्रगतिवादी साहित्य सबै नै प्रगतिशील हुन्छ, तर सबै प्रगतिशील साहित्य भने प्रगतिवादी हुन सक्दैन । प्रगतिशीलता र प्रगतिवादलाई छुट्याउने आधारभूत तŒव रचना र रचनाकारले स्वीकार गरेको विश्वदृष्टिकोण हो । प्रगतिवादी साहित्य र साहित्यकारले द्वन्दात्मक भौतिकवाद र वैज्ञानिक समाजवादलाई आनो विश्वदृष्टिकोण बनाउनु अपरिहार्य हुन्छ । एकदमै ख्याल राख्नुपर्ने कुरा के हो भने समाजवादी यथार्थवादले अतीतका सबै काला पक्षहरूसहित अघि बढिरहेको वा सामन्ती तथा पू“जीवादी दासताका सम्पूर्ण विभीषिका वा आनो अस्तित्वको रक्षा गर्न प्रयत्न गरिरहेको पू“जीवादका सबै नृशंसताका साथ मानवजातिको चित्रण गर्दछ ।
प्रगतिवादले समकालीन यथार्थलाई समग्रतामा बोध वा संज्ञान गराउनु र मानिसका सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नुलाई मात्र साहित्यको कार्यभार मान्दैन । साहित्यलाई केवल जीवन र समाजको व्याख्या–विश्लेषण एवं आलोचनाको रूपमा हेर्ने दृष्टिकोणलाई पनि यसले अपर्याप्त ठान्दछ । प्रगतिवादले साहित्यलाई यथार्थ र यथार्थचेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण एवं शोषणमा आधारित समाजव्यवस्थामा सामाजिक जीवनको परिवर्तनको माध्यम समेत ठान्दछ । साहित्यको सामाजिकता र सामाजिक प्रयोजनलाई स्वीकार गर्ने अन्य साहित्य सिद्धान्तभन्दा प्रगतिवाद किन भिन्न छ भने यसले साहित्यको सामाजिकता र प्रयोजनको मूल अर्थ नै साहित्य आमूल परिवर्तनको माध्यम हुनुमा हुन्छ भन्ने मान्दछ ।
सबैलाई थाहा भएको तथ्य के हो भने साहित्यले सीधा र प्रत्यक्षतया सामाजिक जीवनमा परिवर्तन ल्याउने काम गर्न सक्दैन । समाजमा आमूल परिवर्तन ल्याउने सामाजिक शक्ति सर्वहारा वर्ग एवं समाजका आम श्रमजीवी जनता हुन् भने आमूल परिवर्तनको प्रयत्नको मूल केन्द्र चाहि“ आर्थिक, राजनीतिक संघर्ष हो । साहित्यले यिनै सामाजिक शक्ति र संघर्षको क्षेत्रलाई सहयोग पु¥याएर मात्र आमूल परिवर्तनको प्रयत्नमा सहयोग पु¥याउन सक्दछ । सामाजिक यथार्थ एवं सामाजिक सम्बन्धको समग्रतालाई र जनताको सामाजिक संघर्ष एवं इतिहासको विकासप्रक्रियालाई चित्रण गरेर साहित्यकारले जनताको यथार्थबोध विकसित गर्न सकेको खण्डमा नै त्यस किसिमको साहित्यले आनो समाजरूपान्तरणकारी भूमिका निर्वाह गर्न सक्तछ । यसो गरेर साहित्यले जनचेतनालाई तीब्र र जागृत पार्दछ र पछि यही जागृत सामाजिक चेतना नै परिवर्तनकारी चेतनामा रूपान्तरित हुनपुग्दछ ।
यसरी नेपाली समाजको आजको वस्तुगत परिस्थिति, सामाजिक सम्बन्ध, जीवन–यथार्थ र चेतनाको स्वरूपलाई विश्वसनीय एवं यथार्थवादी तरीकाले चित्रण गर्ने, समाजव्यवस्था र त्यसभित्रको जनजीवनको यथार्थ स्थितिलाई छर्लड्ड हुनेगरी बोध गराउने, नेपालको रूपान्तरणको प्रक्रियामा सक्रिय रहेको नेतृत्व र त्यसका सहायक शक्तिहरूलाई चिनाउने, क्रान्तिकारी चेतनालाई दरिलो बनाउने, विकासशील शक्तिहरू अर्थात् सर्वहारा वर्ग र श्रमजीवी जनताहरूलाई जुनसुकै कुराहरूको बारेमा पनि सही किसिमले सोच्न, बुझ्न र त्यसअनुरूप काम गर्न सक्षम बनाउने र रूपान्तरणको संघर्षमा दिशा, दृष्टि र गति दिने कार्य गर्नुमा नै साहित्यको परिवर्तनकारी भूमिका व्यक्त हुन्छ । यथार्थका प्रमुख पक्षहरू, समाजको मुख्य अन्तर्विरोध, समाजले समाधानका निम्ति माग गरेका मुख्य समस्याहरू आदिलाई यथार्थवादी तरीकाबाट प्रतिबिम्बन गर्न सकेमा मात्र साहित्यले आनो यो भूमिका पूर्ति गर्न सक्दछ । आज नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक शोषणयुक्त सामाजिक संरचना नै सम्पूर्ण उत्पीडित नेपाली जनताको प्रगति, आर्थिक विकास र समुन्नतिमा बाधक बन्न पुगेको छ । यस सामाजिक संरचनालाई जोगाएर राख्ने प्रयत्नमा शोषकवर्गीय शक्तिहरू लागेका छन् र तिनका विरुद्धको संघर्षमा नेपालको सर्वहारा वर्ग र अन्य उत्पीडित वर्गहरू रहेका छन् । यही कारण वर्तमान सामाजिक संरचनालाई ध्वस्त पारेर नया“ जनवादी सामाजिक संरचनाको निर्माण गर्ने नेपाली जनताको यथार्थका साथै तिनको संघर्षलाई गहन र जीवन्त रूपबाट प्रतिबिम्बित गर्ने, समाजका अग्रणी विचारहरूलाई उद्घोष एवं पुष्टि गर्ने र विकासशील शक्तिहरूको हितको रक्षामा साहित्य लेख्ने कार्यलाई प्रगतिवादले विशेष महŒव दिनु परेको हो ।
परस्परविरोधी वर्गमा विभाजित हाम्रो जस्तो समाजमा सबल, गतिशील शक्ति र विकासको स्रोत भनेको वर्गसंघर्ष हो र पुरानोको उन्मूलन र नया“, प्रगतिशील समाजव्यवस्थाको स्थापनाको कारक तŒव– सामाजिक क्रान्ति– वर्गसंघर्षको उच्चतम रूप हो । नेपाली समाजको आमूल परिवर्तनको माध्यम बन्न यही कारण साहित्यले वर्गसंघर्ष एवं सामाजिक क्रान्तिको पक्षमा आवश्यक भूमिका निर्वाह गर्नु अनिवार्य हुन्छ । उत्पादनका साधन एवं श्रमका उत्पादनमाथिको निजी स्वामित्व नै त्यस्तो आधार हो, जसले समाजलाई वर्गविभाजित गर्दछ । वर्गीय शोषण एवं समाजको वर्गीय विभाजनको आधार यही निजी सम्पत्ति र स्वामित्व नै हो । जुन समाजमा उत्पादनका साधन र श्रमको उत्पादनमा सबैको समान हैसियत हुन्छ, त्यहा“ न वर्ग हुन्छ, न त मानवले मानवमाथि गर्ने कुनै किसिमको शोषण नै हुन्छ । त्यसैले सामाजिक असमानता, गरिबी, अव्यवस्था, शोषण–उत्पीडन, कलहजस्ता सामाजिक खराबीहरूबाट उन्मुक्तिका निम्ति वर्गहीन समाजको स्थापना अनिवार्य शर्त मानिन्छ । त्यस्तो समाजको स्थापनाको लक्ष्य वर्गसंघर्षलाई उपेक्षा गरेर, ढाकछोप गरेर वा शोषक वर्गस“ग सम्झौता गरेर होइन, उत्पीडित वर्गभित्र वर्गचेतना अधिकतम मात्रामा विकसित गरेर र वर्गसंघर्षलाई तीब्रतम पारेर मात्र पूरा हुनसक्दछ । यही कारण, प्रगतिवादले परस्परविरोधी शक्तिका बीच चल्ने संघर्षलाई विशदता र समग्रतासाथ चित्रण गर्ने, समाजमा रहेका आधारभूत र प्रमुख अन्तर्विरोधलाई ठीक ढंगले व्यक्त गर्ने, वर्गसंघर्षस“ग सम्बन्धित र समाजले सरोकार राखेका विषयलाई प्राथमिकता दिने, आर्थिक, राजनीतिक र विचारधारात्मक जस्ता वर्गसंघर्षका विविध रूपहरूलाई प्रतिविम्बित गर्ने र साहित्यमा वर्गको महŒवलाई विशेष रूपबाट विकसित गर्ने कार्यलाई अत्यावश्यक ठान्दछ ।
साहित्य समाजको एउटा विचारधारात्मक अधिरचना हो । सत्तारूढ वर्गहरूले समाजलाई आनो स्वार्थ अनुकूल ढाल्न साहित्यलाई उपयोग गर्दै आएका छन् र ऐतिहासिक विकासअनुसार शोषक वर्गका विरुद्ध सचेत भएका वर्गहरूले पनि संघर्षको हतियारका रूपमा यसको उपयोग गरिरहेका छन् । नेपालमा प्रगतिवादी साहित्यको इतिहास यसैको ज्वलन्त उदाहरण हो । जसरी शासक वर्गको आर्थिक–राजनीतिक स्वार्थ शासित वर्गको स्वार्थस“ग टक्कराउ“छ, त्यसरी नै शासक वर्गको साहित्य–संस्कृतिस“ग शासित वर्गको साहित्य–संस्कृतिले अनिवार्यतया टक्कर लिनैपर्दछ । यसले विचारधारा, राजनीति, कला–साहित्य, नैतिकता जस्ता विषयहरूमा सर्वहारावर्गीय मूल्यमान्यता विकसित गर्नैपर्दछ र यी सबै विषयमा शासक वर्गले अघि सारेका मूल्यमान्यतामाथि आक्रमण गर्र्नैपर्दछ । वास्तविक साहित्य जनताका सौन्दर्यात्मक आदर्शहरू, न्याय तथा भलाइका बारेमा तिनका सोचहरू र स्वतन्त्रता र सुखका निम्ति तिनले गरेका आमूल परिवर्तनकारी संघर्षको मूर्तरूप हो । प्रगतिवादी साहित्यले आनो यो दायित्वबाट कहिल्यै पनि पलायन गर्न मिल्दैन । आजको प्रगतिवादी साहित्यले सामन्तवाद–साम्राज्यवाद (तिनका प्रतिनिधि नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, दरबार र भारतीय एकाधिकारी पू“जीपति वर्ग र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको विश्वसाम्राज्यवाद)को विरुद्ध हुने संघर्षमा क्रान्तिकारी उत्साह र प्रेरणा दिने, नया“ जनवादी आर्थिक–राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने, मजदुर–किसान र निम्न–पू“जीपति वर्गका बीचमा एकता विकसित गर्ने र शासक वर्गप्रति घृणा उत्पन्न गर्ने कार्य गतिशील यथार्थको प्रतिबिम्बनको माध्यमबाट गरेको खण्डमा मात्र यसले वास्तवमै आमूल परिवर्तनको संघर्षलाई सहयोग पु¥याउन सक्तछ ।
आजको सन्दर्भमा प्रगतिवादी साहित्यको मूल दायित्व वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक नेपालको शोषक–शासक समाजव्यवस्था र सामाजिक सम्बन्धहरूमा आमूल परिवर्तनका निम्ति उत्पीडित जनतामा आवश्यक चेतना जगाउनु र सामाजिक सम्बन्धहरूको एवं गतिशील यथार्थ र चेतनाको स्वरूपलाई सत्यपरक ढंगबाट यथार्थवादी तरीकाले प्रतिबिम्बित गरी एकातिर उत्पीडित जनसमुदायलाई जीवनको वास्तविकताबोध गराउनु हो भने अर्कातिर आमूल परिवर्तनकारी वर्ग र त्यसका सहायक मित्रशक्तिहरूलाई ब्यू“झाउ“दै आमूल परिवर्तनकारी चेतनालाई दरिलो बनाउने दिशा र दृष्टि दिनु हो । आफूलाई आमूल परिवर्तन तथा मानवमुक्तिको पक्षमा क्रियाशील बनाउन प्रगतिवादी साहित्यकार त्यतिखेर मात्र सक्षम र प्रभावकारी हुनसक्छ– जतिखेर उसले पू“जीवादी व्यवस्थाको विकल्पलाई मानवमुक्तिको प्रारम्भ ठानी पू“जीवादी व्यवस्था, संस्कृति र विचारधाराका विरुद्ध विद्रोह गर्दछ, सर्वहारावर्गको उद्देश्यसहित आनो रचनाशीलतालाई गा“सेर सृजना गर्दछ, इतिहासप्रक्रियाको केन्द्रीय कारण वर्गसंघर्ष हो भन्ने मान्दछ र साहित्यको वर्गीय स्वरूपलाई अंगीकार गर्दछ ।
सिद्धान्ततः यो कुरालाई स्वीकार गरेर पनि जनताका वर्गीय दुश्मनहरूस“ग मित्रवत् व्यवहार गर्ने, कतिपय सन्दर्भमा वर्गीय दृष्टिलाई परित्याग गर्ने र निर्वर्र्गीय मूल्य–मान्यता र चिन्तनलाई विस्तार गर्ने, आफूलाई आमूल परिवर्तनको पक्षधर मान्ने तर वर्तमान संसदीय प्रजातन्त्रलाई संस्थागत र सुदृढ गर्ने राजनीतिक वृत्तको प्रभावबाट आज कतिपय ‘प्रगतिवादी’ साहित्यकारहरू मुक्त हुन सकिरहेका छैनन् । वर्तमान नेपाली क्रान्तिको आधारभूत शत्रु सामन्त वर्ग, दलाल एवं नोकरशाही पू“जीपति वर्ग, विदेशी एकाधिकार पू“जीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् भन्नेजस्ता कुराहरूलाई स्वीकार गरेर पनि यिनका विरुद्धको संघर्षलाई तीब्रता दिन आनाकानी गर्ने, वर्तमान शासनप्रणालीको वर्गचरित्रलाई प्रतिक्रियावादीका रूपमा मान्न अस्वीकार गर्ने र संसदीय प्रजातन्त्रलाई ‘संस्थागत र सुदृढ’ बनाउने कथित कार्यनीतिलाई व्यवहारमा रणनीतिक रूपमा अघि बढाउने राजनीतिको प्रभावस्वरूप केही साहित्यकारहरू पू“जीवादी साहित्यिक वृत्तमा फेला पर्ने स्थितिवादी यथार्थवाद (यथास्थितिवाद), नकारात्मक यथार्थवाद (यथार्थका नकारात्मक पक्षको चित्रणमा सीमित रहने, गुनासो गर्ने, विलाप गर्ने, गाली गर्ने) र यथार्थको सट्टा विविध किसिमका रुमानी भ्रमहरू प्रस्तुत गर्ने कार्यमा सीमित हुन खोजिरहेका देखिन्छन् । वास्तवमा यो आजको नेपालको अवस्था र आज स्थापित शासनव्यवस्थालाई सही रूपबाट बोध गर्न नसकेको स्थितिबाट उत्पन्न समस्या हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप शासनव्यवस्थाको रूपपक्षमा परिवर्तन आए पनि सारपक्षमा कुनै भिन्नता आएको छैन । हिजो पञ्चायतकालमा समाजको संरचना जस्तो थियो, आज पनि त्यही नै छ । नेपाली जनताका शत्रु र मित्र वर्गमा पनि खासै परिवर्तन आइसकेको छैन । आज पनि नेपाली जनता हिजोजस्तै शोषकवर्गको शोषण–उत्पीडन झेल्न बाध्य छन् । यस्तो अवस्थामा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थामाथि प्रहार गर्नुपर्ने आवश्यकता र औचित्यबारे अन्योल र अस्पष्टता रहनुपर्ने कुनै कारण देखिंदैन ।
वास्तवमा नेपालको वर्तमान अवस्था के हो र त्यसलाई कसरी हेर्ने ? यस सम्बन्धमा पनि केही चर्चा गर्नु आज अत्यावश्यक भएको मलाई लाग्दछ ।
हाम्रो देश नेपाल सामाजिक विकासको हिसाबले धेरै नै पछौटे, एक अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक संरचना भएको मुलुक हो । लामो समयदेखिको स्वदेशी
(सामन्ती) एवं विदेशी (औपनिवेशिक) शोषण–उत्पीडनका कारण आज विश्वका अधिकतम गरिब देशहरूको पंक्तिमा सबैभन्दा माथि यसको नाउ“ आउ“छ । नेपालमा आज व्याप्त अभाव, गरिबी, उत्पादनको असमान वितरण, लैंगिक एवं वर्गीय असमानता, बेरोजगारी, अशिक्षा, असुरक्षाको स्थिति, मह“गी, भ्रष्टाचार, हत्या, राज्यआतंक जस्ता अनगिन्ती सामाजिक रोगहरू यिनै स्वदेशी–विदेशी उत्पीडनका परिणाम हुन् । यसले के प्रष्ट पार्दछ भने सामन्तवादको पूर्ण उन्मूलन, संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद, विशेषतः भारतीय विस्तारवादको विरुद्ध देशको स्वाधीनताको संरक्षण एवं विदेशी निर्भरता र नियन्त्रण हटाई स्वनिर्भर अर्थतन्त्रको निर्माण र अधिकतम रूपबाट जनताका पक्षमा राजनीतिक स्वतन्त्रता हासिल गर्नु नेपाली जनता र मुलुकका सामु रहेका खास समस्याहरू देखा पर्दछन् । यिनलाई संक्षिप्तमा नेपाली जनता र मुलुकसामु रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्या पनि भन्न सकिन्छ ।
२००७ सालमा राणाशाहीको अन्त भएर देशले अन्तर्राष्ट्रिय रंगमंचमा प्रवेश गरेको पचास वर्ष बितिसक्दा पनि सामन्त–दलाल एवं नोकरशाह वर्गका शासकहरूको वर्गीय स्वार्थअनुसार स्वदेशी साधनस्रोत र विदेशी सहयोगको दुरुपयोगको कारणले गर्दा नेपालले उल्लेखनीय प्रगति गर्न सकेको छैन । मुठ्ठीभर मानिसहरू झन् झन् धनी बन्दैछन् भने झन् झन् बढी संख्यामा आम श्रमजीवी जनता गरिबीको रेखामुनि खस्क“दैछन् । रगतपसिना एकगरी मेहनत गर्ने जनताको निम्ति बा“च्ने समस्या अधिकतम रूपमा गम्भीर र जटिल बन्दो छ । त्यतिमात्र होइन, भारतीय शासक वर्गको विस्तारवादी नीतिहरूको कारणले गर्दा राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डतामाथि खतरा बढ्दो छ र सत्ताधारीहरूको साम्राज्यवादी तथा भारतपरस्त नीतिले यस खतरालाई झन् बढी गम्भीर बनाइरहेको छ ।
२०४६ सालको जनआन्दोलनले तीस वर्षको निरंकुश पञ्चायती शासनलाई ढाले पनि देशको अर्धसामन्ती एवं अर्धऔपनिवेशिक सामाजिक संरचनामा भने कत्ति पनि परिवर्तन ल्याएको छैन । पञ्चायती व्यवस्थाको अन्त भएको र देशमा संसदीय प्रजातन्त्रको बहाली भएको पनि बाह्र वर्ष बितिसकेको छ । यस अवधिमा बनेका लगभग एक दर्जन सरकारहरूले जनताको दुःखमाथि दुःख थप्ने वा वर्गीय शोषणलाई कायम राख्ने बाहेक कुनै पनि उल्लेखनीय सकारात्मक कामहरू गर्न सकेका छैनन् । थप उल्टो तिनले आर्थिक, सामाजिक एवं सांस्कृतिक सबै क्षेत्रमा अरू बढी संकटहरू थप्दै गएका छन् र राष्ट्रियताको समस्यालाई अत्यन्त गम्भीर बनाएका छन् । सन् १९१६ को सुगौली सन्धिद्वारा तत्कालीन ब्रिटिश भारतले नेपाललाई अर्धऔपनिवेशिक बनाउने कार्य गरे तापनि सन् १९२३ को व्यापार सन्धि, १९५० को शान्ति तथा मैत्री सन्धि जस्ता असमान सन्धिहरू लगायत कोशी–गण्डकी सम्झौता, सन् १९६५ को गोप्य सुरक्षासन्धि आदिका कारणबाट मुलुकको राष्ट्रियतामा धेरै प्रतिकूल असर पारिसकेको थियो । संसदीय व्यवस्थाको पुनर्बहालीपछि बनेका सरकारहरूले नेपालका सम्पूर्ण नदी, बजार र भारतीय मुद्रालाई साझा बनाउने २० जुन १९९० को नेपाल–भारतको संयुक्त विज्ञप्ति, टनकपुरको सन्धि, प्रम मनमोहन अधिकारीको पालामा बनेको महाकाली प्याकेजको घातक अवधारणाअनुरूप शेरबहादुर देउवाको पालामा भएको महाकाली सन्धि लगायतका विभिन्न सन्धि–सम्झौताद्वारा लगातार राष्ट्रघातमा सहयोग पु¥याउ“दै आएका छन् । केही सांसद्हरूको विरोधलाई अपवादका रूपमा राखेर हेर्ने हो भने नेपालको संसद्मा कथित राष्ट्रिय पार्टीहरूको सहमति र एकता यही राष्ट्रघातको विषयमा मात्र बन्न पुगेको देखिन्छ । पञ्चायतकै पालादेखि दार्चुलाको साढे सात लाख रोपनीभन्दा बढी जमीन भारतीय सेनाको कब्जामा अद्यावधि रहिरहेको छ र पचासौं ठाउ“मा भारतले सीमाअतिक्रमण गरिरहेका समाचारहरू हामी दिनदिनै पढिरहेका छौं । देशको आर्थिक, राजनीतिक क्षेत्रमा भारतीय विस्तारवाद र पश्चिमी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप निरन्तर बढिरहेको कुरा जगजाहेर जस्तै छ । यो सबै कुराले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता खतरामा पर्दै गएको छ । कथित आतंकवादलाई समाप्त पार्ने निहु“मा अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी देशको सहयोग खोज्ने शासकवर्गको प्रयत्न र त्यस्ता शक्तिहरूको आडभरोसा लिने व्यवहारले देशको शासनमा तिनको प्रत्यक्ष संलग्नता देखा पर्न थालेको छ र देश एक किसिमले तिनको नवउपनिवेशभन्दा अझ गंभीर अवस्थाबाट गुज्रिनु परिरहेको छ ।
मुलुकको अर्थतन्त्रको अवस्था पनि राष्ट्रिय अर्थतन्त्रको विनाश र कंगालीकरणको दिशातिर अघि बढिरहेको छ । एकातिर राष्ट्रिय अस्मिता बेचेर र देश चुसेर पालैपालो सत्तामा पुग्ने नेता र मुठ्ठीभर शासकहरूको जीवनस्तर यूरोपेली तहमा पुगेको छ भने अर्कातिर पूरै देश कंगालीकरणको नमूना बन्न पुगेको छ । देशको एकहत्तर प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि जीवन गुजार्न विवश छ । मुलुकको वैदेशिक ऋण तीस अर्बबाट बढेर दुई सय अर्बको हाराहारीमा पुगेको छ र आज प्रत्येक नेपालीको शिरमा करिब दश हजार वैदेशिक ऋण्ँको भार छ । विदेशबाट प्राप्त सहायता अनुदान एवं अरबौंको ऋण र नेपाली जनताले तिरेको राजश्वबाट नमूनायोग्य कुनै विकास–निर्माणको काम शासकहरूले गरेर देखाउन सकेका छैनन् । भ्रष्टाचार र कमिशतन्त्रले संसदीय राजनीति र प्रशासनलाई ख्वाल्र्याप्पै निलेको छ । सरकारी स्वामित्वमा भएका केही कलकारखानाहरू र संस्थानहरू समेत बेचेर भ्रष्टाचार गर्ने काम भएको छ । अरबौंको बजेटघाटा, सरकारी कार्यालयको करोडौंको बेरुजु, अरबौंको व्यापारघाटा, विश्वसाम्राज्यवादले सिफारिश गरेको आर्थिक समायोजन, उदारीकरण, निजीकरण तथा खुल्ला बजार नीतिले राष्ट्रिय अर्थतन्त्र ध्वस्त जस्तै बनेको छ । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा तिनका नेपाली दलालहरू र एन.जी.ओ., आई.एन.जी.ओ. मिलेर मुलुक चुसिरहेका छन् र देशलाई आनो औंलामा नचाइरहेछन् । शिक्षा, स्वास्थ्य जस्तो विषय व्यापार बनेको छ । संकटकाल र सैनिक खर्चको निम्ति भैरहेको व्यभारले अर्थतन्त्र चल्न नसक्ने स्वीकृतिमा भएको कुरो राष्ट्र बैंकका गभर्नर नै गर्न थालेका छन् । देशको सबैभन्दा सृजनशील जनशक्ति युवा पुस्ताको एउटा ठूलो भाग रोजगारको खोजीमा विदेशिन र पराइको कमारो बन्न बाध्य भएको छ । बेरोजगारी र अर्धबेरोजगारीका कारण युवा पुस्ता विकृति, उच्छृङ्खलता र अराजकतातिर धकेलि“दो छ । उद्योगको विकास नाम मात्रको छ । औद्योगिक उत्पादनका नाममा रक्सी, वियर, चुरोट र कोकाकोलाको उत्पादन बढेको छ । विकासको नाममा केही ठूला होटलहरू, रेष्टु“रा, फनिर्सिड्ड हाउसहरू, ब्यूटीपार्लरहरू, सिनेमाघरहरू, सुपरमार्केटहरू र बोर्डिङ स्कूलहरू खुलेका छन् । राज्यआतंक र संकटकालका कारण ती पनि आज टाटपल्टिसकेको स्थितिमा पुगेका छन् । औंलामा गन्न सकिने शोषकहरूका केही ठूला विलासी ढंगका महलहरू बनेका छन् । देशलाई रातोदिन हलोकोदालो गरेर पालिरहेको कृषिप्रधान देशको कुल असी प्रतिशत जनता सबैभन्दा बढी मुलुकमा व्याप्त गरिबी, अभाव, पछौटेपन, रोगभोक र सामन्ती उत्पीडनको शिकार भएको छ । पा“च लाखभन्दा बढी कृषि–श्रमिक परिवार पूर्ण सुकुम्बासी अवस्थामा छ भने करिब त्यत्ति नै परिवारस“ग तीन कठ्ठाभन्दा कम मात्र जमीन छ । एकातिर देशको एक दशमलब पा“च प्रतिशत बसिखाने शोषकहरूको हातमा पन्ध्र प्रतिशत खेतीयोग्य जमिन छ भने अर्कोतिर देशका सत्तरी प्रतिशत गरिखाने किसानको हातमा केवल तीस प्रतिशत जमिन छ । अझ रमाइलो कुरा त के छ भने किसानहितको कुरो गरेर नथाक्ने सत्तारूढ पार्टीहरूले केही समयअघि मात्र मोहीलाई बेदखली गर्ने र आइन्दा किसानले जग्गाधनीको जमिनमा जति रगतपसिना पोखे पनि मोहियानी हक दावी गर्न नपाउने किसानमारा कानून पारित गरेका छन् । सिंचाइ सुविधाको अभाव, सस्तो रूपमा बीउविजन नपाउने समस्या, बैंकहरूको चक्रबृत्ति व्याजले किसानहरू क्रमशः सुकुम्बासी हुन बाध्य भैरहेका छन् ।
आज ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित प्रजातान्त्रिक अधिकारमाथि समेत ठाडो अतिक्रमण भइरहेको छ । कथित प्रजातन्त्रमा रहेको फासिष्ट चरित्र आज प्रष्टतया मुखरित भइरहेको छ । शासक वर्गले संविधानले प्रदान गरेको वैधानिकतालाई निर्लज्ज उल्लंघन गरिरहेको छ । माओवादी समस्याको समाधानको मुख्य उपायको रूपमा चारैतिर प्रतिक्रियावादी हिंसा एवं श्वेतआतंक मच्चाइएको छ । यही क्रममा राज्यआतंक र नरहत्याका घटनाहरूमा दिनदिनै तीब्रता आइरहेको छ ।
त्यति मात्र नभएर आज संसदीय राजनीति पदलोलुपता, विलासी प्रवृत्ति, सुखसुविधा, पैसाको निम्ति जस्तोसुकै काम गर्न पछि नपर्ने घृणित खेलमा परिणत हुन पुगेको छ । संसद्वादी पार्टीका नेताहरू र सांसद्को एक मात्र काम कुर्सीको खोसाखोस र सत्ताको लागि मारामारमा सीमित रहेको छ– संसदीय प्रजातन्त्रको पुनर्बहाली यता । सांसद् र मन्त्रीहरू पैसामा किनबेच हुनु, रातो पासपोर्ट व्यापार गर्नु, चेलीबेटी बेचबिखन गर्नु, पजेरो–प्राडोको निम्ति हुरुक्क हुनु र त्यसको व्यापार गर्नु, सुरासुन्दरीको ओसारपसार गर्नु र नानाथरी भ्रष्टाचारमा चुर्लुम्म डुबेर भ्रष्ट बन्नु आज सामान्य संसदीय आचरण बन्न पुगेको छ । कुर्सी हत्याएपछि र राज्यको सा“चो हातमा पारेपछि जीवनका आदर्श, बाचा र इमान या“क्नु मन्त्री र सांसद्को निम्ति सहज कुरो भएको छ । सारांशमा नेपालको आजको अवस्था यही हो ।
मुलुकको यो गंभीर अत्यासलाग्दो अवस्थाका कारण जनतामा संसदीय व्यवस्थाप्रति असन्तोष बढ्नु र यसको विकल्पको खोजी हुनु अस्वाभाविक थिएन । आज कथित जनयुद्धले आफ्नो वर्चश्व स्थापित गर्नुमा उसको सही कार्यदिशा र नीतिको कारणभन्दा जनताको यही विकल्पको खोजीले बढी काम गरिरहेको छ भन्ने कुरा प्रष्ट नै छ । नेपालको वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक सम्पूर्ण किसिमका शोषण–उत्पीडनबाट मुक्त साम्यवादी आदर्शअनुरूप नया“ जनवादी गणतन्त्रको स्थापना नेपालका आमूल परिवर्तनकारी शक्तिहरूले गर्दैआएका छन् र त्यसनिम्ति उनीहरू क्रियाशील पनि छन् । त्यस्ता शक्तिहरूमध्ये तुलनात्मक रूपमा वैचारिक हिसाबले बढी सही देखिएकाहरूले जनतामा आफ्नो वर्चस्व राम्ररी स्थापित गर्न नसकेको कारण खास खास सवालमा उग्रवामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी–अराजकतावादी सोचहरूबाट र सामाजिक फासीवादी व्यवहारबाट ग्रस्त तथापि क्रान्तिकारी कित्तामा रहेको ‘जनयुद्ध’ चर्चा एवं आकर्षण–विकर्षणको विषय भएको छ ।
नेपालमा यथास्थितिको समर्थन गरेर प्रगतिवादी हुन सकिन्छ भन्ने अत्यन्त भ्रामक चिन्तन विकसित हुन खोजिरहेको देखिन्छ । यथास्थितिको समर्थन र प्रगतिको चाहना वास्तवमा एउटै कुरो होइन । वर्तमान सामाजिक संरचनालाई यथावत् राखेर त्यसभित्र सुधारका केही कामहरू गर्नु प्रगतिशील हुनु होइन । प्रगतिशील हुनका निम्ति वर्तमान सामाजिक संरचना एवं त्यसलाई टिकाउन प्रयत्न गर्ने शक्तिहरूको विरोध र तिनका विरुद्ध क्रियाशील रहेका वर्ग एवं जनसमुदायको स्वार्थको पक्षपोषण गर्नु अनिवार्य हुन्छ । तर एकथरी शक्तिहरू नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवाद, दलाल तथा नोकरशाही पू“जीवाद र साम्राज्यवाद तथा विस्तारवाद नेपाल र नेपाली जनताका आधारभूत शत्रुहरू हुन् भन्ने कुरालाई स्वीकार गर्दागर्दै पनि सामन्त, दलाल तथा नोकरशाह पू“जीपति वर्गको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र प्रतिक्रियावादी संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताका उल्लेखित शत्रुहरूलाई नै सुरक्षा गर्ने काम गरिरहेको छ र नेपाली समाजको आमूल परिवर्तनमा बाधाव्यवधान खडा गरिरहेको छ भन्ने कुरोलाई चाहिं नेपाली जनताबाट लुकाउने काम गरिरहेका छन् । उनीहरू हाक्काहाकी वर्तमान संसदीय प्रजातन्त्रलाई ‘संस्थागत गर्ने’ र ‘सुदृढ बनाउने’ नारा अघि सारिरहेका छन् । वास्तवमा नेपाली समाजलाई आमूल परिवर्तन गर्ने कुरो र वर्तमान संसदीय व्यवस्थालाई सुदृढ पार्ने नारा पूर्णतया एकअर्काका विरोधी छन् । २०४६ को जनआन्दोलनबाट प्राप्त केही सीमित उपलब्धिहरूको सुरक्षाको नारा प्रगतिशीलहरूका निम्ति उपयुक्त भए पनि वर्तमान संसदीय व्यवस्थालाई सुदृढ गर्ने नारा भने सर्वथा गलत छ । किनभने संसदीय व्यवस्थालाई सुदृढ गर्नु भनेको यथास्थितिलाई मजबुत पार्नु र वर्तमान प्रतिक्रियावादी वर्गहरूको वर्गीय स्वार्थ र आम जनतालाई दमन गर्ने तिनको राज्यसत्तालाई नै अरू सुदृढ बनाउनु हो ।
यो विषयलाई वर्गीय रूपबाट नहेर्ने परिपाटीबाट सृजित समस्या हो । प्रजातन्त्र भनेको राज्यसत्ताको एउटा रूप हो र राज्यसत्ता सत्तारूढ वर्गद्वारा अर्को वर्गको विरुद्ध र जनसंख्याको एउटा हिस्साद्वारा अर्को हिस्साको विरुद्ध व्यवस्थित बलप्रयोगको संगठन हो । नेपालमा स्थापित संसदीय प्रजातन्त्र (पू“जीवादी प्रजातन्त्र) यही वर्गीय आधिपत्यको उपकरण बाहेक अरू केही होइन । यो सीमित, बन्देजयुक्त, छा“टका“ट पारिएको, झुठो, पाखण्डी र धनीहरूका लागि मात्र अनुकूलको छ । गरिबी र अभावमा जीवन बिताउनु परेकाहरूले यसको उपयोग गर्न सक्दैनन् । वर्गीय अन्तर्वस्तुका कारणले यसले सत्तारूढ वर्गहरूको हित र शोषणपद्धतिको रक्षा गर्दछ र आम नेपाली जनताको इच्छालाई त्यतिखेरसम्म मात्र क्रियान्वित गर्दछ जबसम्म त्यस इच्छाले सत्तारूढ वर्गको हितमा आघात पु¥याउ“दैन । अर्को यो फासिष्ट प्रवृत्तिबाट सर्वथा मुक्त पनि हु“दैन । शोषक–शासक वर्गहरूको हितलाई अघि बढाउन, आम जनतालाई दमन गर्न र धोखा दिनका लागि प्रजातान्त्रिक भनिने संस्था र अधिकारहरू उपयोग हुने स्थिति रहेसम्म तिनलाई क्रियाशील हुन दिइन्छ । तर श्रमिक जनताले आफ्ना जायज मागहरूको पक्षमा तिनको उपयोग गर्न थालेपछि र त्यस्तो उपयोगले शोषक वर्गहरूको हितमा धक्का पुग्न थालेपछि भने प्रजातन्त्रको वैधानिकतालाई च्यातचुत पारेर शोषकहरूले खुल्ला रूपमा हिंसा र आतंकका फासिष्ट तरिकाहरू प्रयोग गर्दछन् । जनताबाट आफ्नो पक्षमा विचारधारात्मक सहमति लिन असक्षम हुने वित्तिकै पू“जीवादी प्रजातन्त्रले तानाशाही रूप ग्रहण गर्दछ । आजको संकटकाल यसकै प्रमाण हो । नेपालमा सरकार–माओवादी वार्ताको अघिल्लो दिनसम्म भइरहेको संविधानप्रदत्त अधिकारहरूको उल्लंघन र अखण्ड हत्या, आतंक पनि त्यसैको उदाहरण हो ।
सामन्तवादविरोधी पू“जीवादी क्रान्तिको युगमा, ऐतिहासिक विकासको एउटा निश्चित चरणमा आएर पू“जीवादी प्रजातन्त्रको उत्पत्ति भएको थियो र प्रजातान्त्रिक गणतन्त्र, राष्ट्रपतीय शासनप्रणाली, संवैधानिक राजतन्त्र, संसदीय शासनप्रणाली र फासिष्ट शासन आदि विभिन्न रूपमा यो प्रकट हुने गरेको छ । पू“जीवादी प्रजातन्त्र सामन्ती अधिनायकवादी शासनका विरुद्ध जनताको संघर्षको परिणाम हो भने संवैधानिक राजतन्त्र चाहिं पू“जीवादी प्रजातन्त्रवादी र राजतन्त्रात्मक अर्थात् सामन्ती शक्तिहरूका बीचको सम्झौताको उपज हो । मध्ययुगीन निरंकुश राजतन्त्रात्मक व्यवस्थाका तुलनामा यो प्रगतिशील हुन्छ तापनि पू“जीवादी प्रजातन्त्र विशाल बहुसंख्यक श्रमजीवी जनतामाथि मुठ्ठीभर शोषकहरूको आधिपत्य राख्ने र तिनको हितको संरक्षण गर्ने साधन एवं पू“जीवादी अधिनायकत्व नै हो । आमूल समाज रूपान्तरणकारी विचारहरूको व्यापक प्रचारका लागि र वर्गसंघर्षको संगठन एवं विस्तारका लागि यसले निरंकुश शासनव्यवस्थामा भन्दा बढी अवसर एवं माध्यम प्रदान गर्दछ । यही नै यसको एक मात्र प्रगतिशील पक्ष हो । पू“जीवादी प्रजातन्त्रको यस प्रगतिशील पक्षलाई अतिरञ्जित गरेर सत्तारूढ वर्गबाट आर्थिक लाभ, पद एवं स–साना सहुलियतहरू लिएर सिद्धान्त एवं नीतिको परित्याग गर्नेहरू संसदीय प्रजातन्त्रलाई समाजको आमूल परिवर्तन ल्याउने काममा लगाउन सकिन्छ र शान्तिपूर्ण उपायबाट, संसद्मा बहुमत ल्याएर आमूल परिवर्तनको कार्यक्रम पूरा गर्न सकिन्छ, यस निम्ति क्रान्तिकारी वर्गसंघर्ष र सशस्त्र संघर्षको कुनै आवश्यकता छैन भन्ने निष्कर्ष निकाल्दछन् । यही कारण, उनीहरू आफ्ना सम्पूर्ण राजनीतिक तथा सांगठनिक गतिविधि यही विश्वासबाट निर्देशित गर्दछन् र पू“जीवादी संसद्लाई आफ्नो राजनैतिक क्रियाकलापको मुख्य क्षेत्र बनाउने गर्दछन् । त्यतिमात्र नभएर उनीहरू कतिपय सन्दर्भमा प्रजातन्त्रलाई अवर्गीय चीजको रूपमा समेत ग्रहण गर्दछन् । उनीहरूका दृष्टिमा संसदीय प्रजातन्त्रमा मौलिक प्रजातान्त्रिक अधिकारहरूको उपस्थितिका कारण, त्यहा“ कुनै वर्गको आधिपत्य रहेको हु“दैन । यो एकदमै गलत चिन्तन हो । मध्ययुगीन सामन्ती शासनव्यवस्थाका तुलनामा पू“जीवादी प्रजातन्त्र प्रगतिशील भए पनि यो प्रजातन्त्र अल्पसंख्यक केही शोषकहरूको वर्गीय हितको संरक्षण गर्ने साधन मात्र हो । वर्तमान सन्दर्भमा यस अन्तर्गत स–साना सुधारहरू, वर्गीय शोषणमा आमूल परिवर्तनकारी खतरा नपु¥याउने किसिमका सुधारहरू हुन सक्दछन्, जनसंघर्षको माध्यमबाट केही सहुलियतहरू प्राप्त हुन सक्दछन्, तर शोषक वर्गको हातबाट श्रमजीवी जनताको हातमा सत्ता स्थानान्तरण गर्ने र तत्कालीन शोषण–व्यवस्था उन्मूलन गरी नया“ समाजव्यवस्थाको निर्माण जस्तो महान्, गंभीर र आमूल परिवर्तनकारी काम पूरा हुन सक्दैन । त्यसका निम्ति त ठूलठूला वर्गसंघर्षको, क्रान्तिको अनिवार्यता हुन्छ, हुन्छ । पू“जीवादी प्रजातन्त्रको ठाउ“मा जनताको प्रजातन्त्र वा समाजवादी प्रजातन्त्रको स्थापना क्रान्तिकारी उपायबाट मात्र संभव छ ।
ज्या“ पाल सात्र्र कुनै प्रगतिवादी साहित्यकार होइनन् । उनी समेत के भन्ने गर्थे भने ‘कुनै युगको साहित्य आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्नु बाहेक अरू के हो र ?’ आजको अवस्थामा प्रगतिवादी साहित्यकारले पनि आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्दै त्यसलाई माथि उल्लेख गरिएको अवस्थाअनुरूप साहित्यमा प्रतिबिम्बन गर्न सक्नुपर्दछ । आफ्नो युगलाई अर्थात् यतिखेरको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई समग्रतामा आत्मसात् गर्ने प्रक्रियामा नै साहित्यले आजको युगको यथार्थलाई उद्घाटित, निरूपित र प्रस्तुत गर्दछ । यस्तो खालको साहित्यबाट आफ्नो वास्तविक स्थितिका सम्बन्धमा परिचय प्राप्त गरेर नै जनताले आफ्नो मुक्तिको संघर्षलाई अघि बढाउने हो । साहित्यको आन्तरिक द्वन्दात्मक प्रक्रियाको एउटा विशेषता के हो भने एकातिर यसले सामाजिक यथार्थ, सामाजिक सम्बन्धहरू र समाजमा सक्रिय भौतिक वैचारिक शक्तिहरूको क्रियाशीलताको प्रतिबिम्बन गर्दछ भने अर्कातिर प्रभावकारी रूपबाट सामाजिक परिवर्तनको प्रेरक शक्ति र चेतनाको पनि निर्माण गर्दछ ।
युगको समग्र यथार्थको प्रतिबिम्बन गर्नु भनेको कुनै खण्डित यथार्थ अर्थात् ‘नवीन यथार्थ’ वा कथित पुरानो यथार्थमा मात्र सीमित रहेर साहित्य सृजना गर्नुपर्दछ भन्ने होइन । गतिशील यथार्थको सक्रिय प्रतिबिम्बनको क्रममा यथार्थप्रति इमानदार साहित्यकारले समाजलाई सम्पूर्णमा प्रतिबिम्बन गर्न सक्ने स्थिति र संभावना रहेकाले साहित्यकारले एकातिर आफ्नो वर्गको सीमा नाघ्न सक्तछ भने कतिपय अवस्थामा साहित्यकारको घोषित चिन्तन र वर्गीय विचारधारा अनुरूप नै रचनामा यथार्थको प्रतिबिम्बन नहुने संभावना पनि रहन्छ । वास्तविक सामाजिक यथार्थलाई प्रतिबिम्बन गरिएको यथार्थको समकक्षमा राखेर मूल्यांकन गर्ने र त्यस कृतिले आम जनताको हितलाई व्यक्त गर्छ कि गर्दैन, जनताका बैरीहरूको हितविरुद्ध त्यस्तो कृतिको उपादेयता छ कि छैन ? भन्ने आधारमा मात्र हामीले साहित्यकारलाई प्रगतिवादी हो कि प्रगतिवादी होइन भनी मूल्यांकन गर्ने गर्नुपर्दछ । प्रगतिवादको काम नया“ वा पुरानो यथार्थको संकुचित सीमारेखा नकोरी आजको नेपालको समग्र यथार्थलाई प्रस्तुत गर्ने, उत्पीडित जनताको स्वार्थलाई व्यक्त गर्ने र प्रतिक्रियावादको स्वार्थका विरुद्ध उभिने रचनाहरू सृजना गर्नु हो । प्रगतिवादको आजको दायित्व यो र ऊ यथार्थको विवाद सृजना गर्नुभन्दा बढी जीवनसत्यताको अवधारणाअनुरूप साहित्य सृजन गर्नु, क्रान्तिकारी विकासको क्रममा यथार्थलाई प्रतिबिम्बन गर्नु, समाजवाद एवं साम्यवादको भावनाअनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिनु, सर्वहारा वर्ग एवं उत्पीडित जनसमुदायलाई आलोचनात्मक यथार्थवादले झैं दुःख भोगिरहने, शोषण–दमन सहेर मात्र बसिरहने सहनशील र समर्पणवादी वर्गका रूपमा मात्र चित्रित नगरी आन्तरिक र बाह्य बन्धनबाट आफू र सम्पूर्ण मानवजातिलाई मुक्त गर्ने आफ्नो कर्तव्य, अधिकार एवं क्षमताप्रति सजग, जुझारु र संघर्षशील वर्गका रूपमा चित्रण गर्नु, बाह्य यथार्थको चित्रणमा सीमित नरही अतीत, वर्तमान र आगत तीनोटै यथार्थलाई भविष्यदृष्टिसहित व्यक्त गर्नु हो । यसो गर्दा साहित्यकारले यथार्थलाई आधार बनाउने, त्यसलाई सटीक रूपबाट चित्रण गर्ने, त्यसको सार प्रस्तुत गर्ने, त्यसमा हुने विकास, गति र संघर्षलाई अनुभव गराउने, त्यसको संभाव्यपूर्ण चित्र प्रस्तुत गर्ने र संघर्षका क्रममा विकसित हुने सकारात्मक पात्रहरूलाई उभ्याउने कार्य गर्नुपर्दछ । सारमा भन्नुपर्दा गत शताब्दीका विश्वका महान् प्रगतिवादी साहित्यकार बर्तोल्त ब्रेख्तले यथार्थवादको उद्देश्य भनेर जे कुराहरू औंल्याएका थिए, ती आज पनि प्रगतिवादी साहित्यकारका निम्ति आदर्शको विषय बनेका छन् । उनले भनेका थिए– ‘समाजको कार्यकारणप्रक्रियाका जटिलताहरू अन्वेषण गर्नु, समाजमा प्रभुत्वमा रहेको शासक वर्गको विचारधारालाई अनावरण गर्नु, तत्काल मानवसमाजले जुन भीषण कठिनाइहरू भोग्नु परिरहेको हो, तिनबाट मुक्ति पाउन सर्वाधिक व्यापक उपायहरू प्रस्तुत गर्ने सर्वहारा वर्गको दृष्टिकोणबाट रचनाहरू सृजना गर्नु, विकासशील तŒवहरूलाई महŒव दिनु, संभावनाहरूलाई मूर्त रूप दिनु र ठोस वस्तुस्थितिबाट संभावित सामान्य निष्कर्ष निकाल्नु यथार्थवादको उद्देश्य हो ।’ वास्तवमा यो प्रगतिवादको पनि उद्देश्य हो र आजको अवस्थामा प्रगतिवादी साहित्यले माथि उल्लेख गरिएको अवस्थालाई आफूमा समावेश गरी बे्रख्तले भनेकै कार्यहरू गर्नुपर्दछ । यसो नगर्ने साहित्य प्रगतिवादी साहित्य हुन सक्दैन ।
– सानेपा, ललितपुर